छापा खबर


रिचार्ज बराबरकै रकम बोनसमा प्राप्त हुन थालेपछि रिचार्ज गर्नेको संख्यामा कमी

रिचार्ज बराबरकै रकम बोनसमा प्राप्त हुन थालेपछि रिचार्ज गर्नेको संख्यामा कमी

नेपालखबर
चैत २३, २०७६ आइतबार ०:१९,

दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ।

एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन्।

यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकले दाबी गरेका खबर आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।

सेवा प्रदायकका अनुसार शतप्रतिशत बोनसको व्यवस्थाले रिचार्ज गर्ने प्रवृत्ति ५० प्रतिशतसम्म घटेको छ । ‘बोनस प्राप्त हुँदा पहिले त्यही प्रयोग हुने र सकिएपछि मात्र मूल ब्यालेन्स प्रयोग हुँदा रिचार्जमा स्वभाविक प्रभाव परेको छ,’ नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने।

पर्याप्त बोनस ब्यालेन्स उपलब्ध भएपछि रिचार्ज केही घटेको एनसेलले जनाएको छ । तत्कालै समग्र आम्दानीमा यसको प्रभाव नदेखिए पनि एक महिनासम्मको बोनस सुविधापछि असर देखिनसक्ने कम्पनीले जनाएको छ।

कोरोना सङ्क्रमण रोकथाम स्वरूप सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म बन्दाबन्दी घोषणा गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले चैत ११ गते नै सेवा प्रदायकलाई रिचार्ज बराबरकै ब्यालेन्स उपलब्ध गराउन निर्देशन दिएको थियो।

सँगै सेवा प्रदायकले प्रयोगकर्तालाई दुई सय रुपियाँसम्म ऋण उपलब्ध गराउनसक्ने प्राधिकरणको निर्णय थियो।

प्राधिकरणको उक्त निर्देशनपछि नेपाल टेलिकमले चैत १२ गते रातिदेखि लागू हुने गरी रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन सुरु गरेको थियो । चैत १८ गतेभित्र रिचार्ज गरे मात्र उक्त सुविधा पाउनसक्ने र प्राप्त ब्यालेन्स टेलिकमकै नेटवर्कभित्र कल तथा एसएमएस गर्न र डेटाका लागि प्रयोग गर्न सकिने टेलिकमले जनाएको थियो।

टेलिकमको बोनस सुविधा १८ गतेदेखि समाप्त भएको छ। यद्यपि कम्पनीले आफ्नो डेटा शुल्क ३० प्रतिशतसम्म घटाएको र सस्तो प्याक उपलब्ध गराएर भोइस र डेटा उपलब्ध गराएको दाबी गरेको छ।

एनसेलले चैत १३ गतेदेखि लागू हुने गरी रिचार्जमा १२० प्रतिशत बोनस उपलब्ध गराएको छ । प्राप्त बोनस तीन दिनभित्र प्रयोग गर्नुपर्ने एनसेलको सर्त छ।

त्यस्तै ८० रुपियाँसम्म ऋण सापटी लिन सकिने सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ। कम्पनीको यो सुविधा सुरु भएको मितिले एक महिनासम्म लिन सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad