छापा खबर


अस्ट्रेलिया गएको एक वर्ष नपुगेका आठ हजार नेपाली विद्यार्थी समस्यामा

अस्ट्रेलिया गएको एक वर्ष नपुगेका आठ हजार नेपाली विद्यार्थी समस्यामा

नेपालखबर
चैत २२, २०७६ शनिबार २३:५७,

अध्ययनका लागि अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा पर्ने देखिएको छ।

कोरोना भाइरसको महामारी चलिरहेको बेला यस्ता विद्यार्थीलाई अस्ट्रेलियन सरकारले कुनै राहत नदिने बताएको छ।

एक वर्षभन्दा बढी भएका वद्यार्थीका लागि भने प्याकेजको घोषणा गरिसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

अस्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष नपुगेका विदेशी विद्यार्थीलाई सरकारले हेर्न नसक्ने बताएका छन्। यस्तो अवस्थामा अप्ठ्यारो महसुस गर्ने विद्यार्थीलाई स्वेश फर्कन उनले आह्वान गरेका छन्।

अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो घोषणाले काम गरेर अध्ययनखर्च जुटाउने उद्देश्यसहित त्यहाँ पुगेका विद्यार्थी समस्यामा पर्ने देखिएका छन् ।

अस्ट्रेलियामा एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार ०७६ वैशाखयता अस्ट्रेलिया अध्ययनका लागि १६ हजार सात सय ६८ ले नो अब्जेक्सन लेटर लगेका छन्।

०७० साउनयता एक लाख ३४ हजार तीन सय ८४ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । सबैभन्दा धेरै ०७५ मा ४१ हजार चार सय ८० विद्यार्थीले एनओसी लगेका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न ‘इमर्जेन्सी रजिस्ट्रेसन फर्म’ भराउन सुरु गरेको छ।

एक वर्ष पुगेका नेपाली विद्यार्थीका लागि भने सरकारले विभिन्न राहत प्याकेज घोषणा गरेको छ।

यस्ता विद्यार्थीको कर जम्मा भएको सुपर एनुयसन (नेपालको संचयकोष जस्तै)बाट १० हजार डलरसम्म निकाल्न पाउने, भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेको भन्दै निकाल्न नपाउने, सुपर मार्केटमा जति समय पनि काम गर्न पाउने, रकम तिर्न ढिलाई भए पनि भिसा रद्द नहुने लगायतका घोषणा त्यहाँको सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad