छापा खबर


लकडाउन कहिलेसम्म? यसो भन्छन् प्रमुख दलका नेता

लकडाउन कहिलेसम्म? यसो भन्छन् प्रमुख दलका नेता

नेपालखबर
चैत २२, २०७६ शनिबार ०:२५,

प्रमुख राजनीतिक दलका नेताले लकडाउन तत्काल खुकुलो बनाउन नहुने बताएका छन्।

लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोना टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने उनीहरुले सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटा र नवीन झाले लेखेका छन्।

सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो। अझै २५ चैतसम्म लकडाउन यथावत छ।

केहीले लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आएका छन्। तर, प्रमुख दलका नेताहरुले भने अहिले खुकुलो पार्नुपर्ने अवस्था नआएको जिकिर गरेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्याप्त परीक्षण गरेर मात्रै लकडाउन खुकुलो बनाउन सकिने बताए।

‘हामीले मात्रै भनेर हुँदैन। विदेशवाट आएका नेपाली क्वारेन्टाइनमा बसेका छन्। अहिलेसम्मको परीक्षणबाट सन्तुष्ट हुन सकिन्छ भनेर स्वास्थ्यकर्मीले भनेपछि मात्र खुकुलो बनाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘तर हामीले धेरै परक्षण गर्न सकेका छैनौँ। धेरैको परीक्षण गर्नुपर्छ र अझै एकहप्ताको लागि लकडाउन थप्नुपर्छ भन्ने विषय आएका छन्।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि लकडाउन खुकुलो पार्ने नभई परीक्षण धेरैभन्दा धेरैमा गर्नुपर्ने बताए।

राजपाका प्रवक्ता सन्तोष मेहताले पनि धेरैको परीक्षण गरेर ढुक्क हुने स्थिति नआएसम्म पूरै लकडाउन खोल्न नहुने बताए।

तर, समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले भने अन्तर्राष्ट्रिय विमानसेवा र सीमानाका अझै केही समय बन्द गर्नुपर्ने तर, आन्तरिक रुपमा लकडाउन खुकुलो पार्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .