छापा खबर


काठमाडौँमा दलाई लामाको जन्मोत्सव मनाउन रोक

काठमाडौँमा दलाई लामाको जन्मोत्सव मनाउन रोक

नेपालखबर
असार २१, २०७६ शनिबार २:३,

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ।

तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउने तयारी गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ।

चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए। ‘तिब्बती समुदायले कार्यक्रम गर्न अनुमति मागेका थिए। तर हामीले अनुमति दिएनौं,’ आचार्यले भने।

गत वर्ष तिब्बती समुदायले जाउलाखेलस्थित तिब्बती शिविरमा कार्यक्रम गरेर लामाको जन्मोत्सव मनाएको थियो। गत वर्ष गृह मन्त्रालयले रोक लगाएको थिएन।

तिब्बती समुदायले लामाको जन्मोत्सव मनाउनु चीनविरोधी गतिविधि हुने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा रोक लगाएको स्रोतले बतायो।

धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोले धर्मगुरुको जन्मोत्सव मनाउने कार्यक्रममा रोक लगाउनु दुःखद भएको टिप्पणी गरे। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको थिएन। धार्मिक आस्थाका कारण गर्न लागिएको कार्यक्रममा रोक लगाउनु आपत्तिजनक छ,’ ग्यात्सोले भने।

धर्मगुरु लामाको जन्मोत्सव मनाउन नदिएर प्रशासनले नेपालमा रहेका तिब्बती समुदायको चित्त दुखाएको उनको भनाइ थियो।

प्रशासनले कार्यक्रम गर्ने अनुमति नदिएपछि शरणार्थी कार्यालयले शुक्रबार अबेरसम्म आमन्त्रित गरिएका विभिन्न मुलुकका राजदूतसहितका कूटनीतिज्ञलाई कार्यक्रम रद्द गरिएको जानकारी गराएको छ।

तिब्बती शरणार्थी कार्यालयले कार्यक्रममा सहभागी हुन नेपालस्थित अमेरिका, बेलायत, जापान, युरोपेली मुलुकका राजदूतलाई निम्त्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad