छापा खबर


बालुवाटार जग्गा प्रकरणः लेनदेनमा विवाद भएपछि खुल्यो नयाँ रहस्य

बालुवाटार जग्गा प्रकरणः लेनदेनमा विवाद भएपछि खुल्यो नयाँ रहस्य

नेपालखबर
असार २०, २०७६ शुक्रबार १:९,

बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गर्ने ‘योजनाकार’ शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका छन्।

नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सर्वाेच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यही जग्गा मिलाउन खर्च भएको बताएका छन्। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले विस्तृत रूपमा लेखेका छन्।

‘ए भान्जी, यो पैसा मैले चलाएको त होइन नि! यो पैसा त गएको छ पो छ। पैसा मुद्दामा गएको छ। तपाईंको मात्रै होइन, हाम्रो पनि कति पैसा गएको छ,’ भान्जीबुहारी पर्ने शान्ता खनालसँगको करिब तीन घण्टाको कुराकानीमा ढकालले भनेका छन्, ‘राणाहरूले गरेको मुद्दा सर्वाेच्चमा पुग्यो, अख्तियारमा गयो। सबैसँग मुद्दा लड्दा कम हैरान त थिएन नि! मैले तपाईंको पैसा ल्याएर उहाँ बुझाएको हो।पैसा बुझ्ने मान्छेसँग सोधे हुन्छ।

तर ढकालले पैसा पु¥याउने र बुझ्ने मानिसको नाम भने सार्वजनिक गरेका छैनन्।

०४८/४९ सालतिर निम्न आर्थिक हैसियतका शोभाकान्तले आफ्नो दिनचर्या चलाउन सानोतिनो ‘जग्गा दलाली’ सुरु गरेका थिए । त्यसक्रममा ढकालले खनालसँग ऋण माग्ने, आफूले जग्गा तथा ब्याजमा लगानी गर्ने र प्रतिफल खाएर साँवासहितको मूलधन फिर्ता गर्न थालेका थिए। उनले बालुवाटारको जग्गामा पनि चलखेल सुरु गरेका थिए ।

‘लौ बालुवाटारको राम्रो ठाउँको जग्गा छ, अहिले नै लगानी गरे पछि भाउ पर्छ भनेर १० लाख रुपैयाँ मामाले लैजानुभएको हो,’ एक संस्थानको जागिरबाट अवकाश प्राप्त खनालले कान्तिपुरसित भनिन्, ‘पछि न पैसा फिर्ता गर्नुभयो, न जग्गा दिनुभयो । रकम फिर्ता माग्दा मलाई झूटो मुद्दा लगाउनुभयो ।’ उनका अनुसार दोस्रोपटक ढकालले ३ लाख फेरि मागे । अनि शान्ताका भाइ रञ्जनलाई समेत थप ४ आना जग्गा दिने भनी २ लाख भारतीय रुपैयाँ लिए।

करिब १६ लाख रुपैयाँ फिर्ता मागेपछि ढकालले आफूविरुद्ध साढे २ करोड रुपैयाँको फर्जी मुद्दा लगाएको जनाउँदै रकम फिर्ताका लागि आफूले पटकपटक कुरा गरेको खनालले बताइन् । तिनै कुराकानीका क्रममा रेकर्ड भएको अडियो फाइल सर्वोच्च अदालतमा रहेको मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको हो।

त्यही अडियोमा आधारित भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताबारे छानबिन गरिरहेको छ । खनालले कबुलअनुसारको जग्गा वा ब्याजसहितको रकम फिर्ता गर्न भनेपछि ढकालले सरकारी जग्गा आफ्नो नाममा पार्ने क्रममा मुद्दा मिलाउन खर्च भएको जवाफ दिएका हुन् ।

‘भान्जी, हजुरले मुद्दाका लागि भनेर हालेको पैसाको जग्गा हो । मुद्दाको पैसा मुद्दामै छ । आउनासाथ म दिन्छु,’ ढकालले भनेका छन्, ‘मुद्दामा परेपछि खर्च हुन्छ । दौडधुप हुन्छ, चाकडी कति गरिएको थियो । गर्‍यो भने धेरै कुरा छन् । हजुरको १५ लाख मसँग छ । कि पैसा लिनुहोस् । जग्गा हाम्रो नाममा आएपछि दिन्छु ।’ जवाफमा जग्गा ‘ढकाल समूह’ का नाममा आइसकेको भन्दै खनालले आफूमाथि छल गरिएको बताएको सुन्न सकिन्छ।

ढकाल र रामकुमार सुवेदीलगायतको समूहले फर्जी मोही खडा गरी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हत्याएको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । २०४९ सालताका राणा परिवारका नाममा सरकारीजग्गा हस्तान्तरण भएको थियो।

२०६७ सालमा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा फेरि मोहीका नामबाट ढकाल र सुवेदीले जग्गा आफ्नो नाममा ल्याएका थिए । त्यस क्रममा विभिन्न सरकारी निकायहरूमा फाइलहरू पुगेको र निकै उल्झन बेहोर्नुपरेको ढकालले उक्त कुराकानीमा बताएका छन् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad