छापा खबर


श्वेता खड्का भन्छिन्ः म महिला हुँ भन्ने फिटिक्कै लाग्दैन

श्वेता खड्का भन्छिन्ः म महिला हुँ भन्ने फिटिक्कै लाग्दैन

नेपालखबर
फागुन २५, २०७६ आइतबार १:५४,

‘कहाँ भेटिएला’ चलचित्रबाट श्वेता खड्काको अभिनय यात्रा सुरु भएको हो। उनी ‘कोहिनूर’ र ‘कान्छी’ फिल्मकी निर्मात्री पनि हुन्।

अहिले उनी एमआरएस एन्ड इन्जिनियरिङ प्रालिमार्फत व्यापार पनि गरिरहेकी छन्। माझी बस्तीको ५४ घर निर्माण गर्ने अभियानमा जुटेकी उनले श्वेता श्री फाउन्डेसन पनि सञ्चालन गरिरहेकी छन्।

नारी दिवसका सन्दर्भमा अजवी पौड्यालले अन्नपूर्ण पोस्ट (आइतबार)का लागि उनीसँग गरेको कुराकानी :

तपाईंको व्यक्तित्व केले निर्धारण गर्छ?

बिजनेस त मैले पहिल्यैदेखि गरिरहेकी थिएँ तर सामाजिक परिचय बनेको थिएन। सीमित ठाउँ र सीमित व्यक्तिमाझ मात्रै चिनिन्थेँ। चलचित्रमा अभिनय गर्न थालेपछि मात्रै व्यापक सर्कलमा मेरो चर्चा चल्न थाल्यो, मेरो नाम बिक्न थाल्यो। कलाकारितामा लाग्नुको श्रेय श्रीकृष्णजीलाई दिन चाहन्छु।

तपाईं के कुरामा सफल हुनुहुन्छ?

म हरेक क्षेत्रमा सिक्दै गरेको सिकारु हुँ भन्ने लाग्छ। हात हालेको काममा पश्चात्ताप गर्नु परेको भने छैन। होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गरेकी छु। श्वेता श्री फाउन्डेसन चलिरहेको छ। क्यान्सर अस्पताल खोल्ने सुरुआती चरणमा छु। फिल्म निर्माण र अभिनय दुवैमा सफल छु। माझी बस्ती सम्पन्न हुने क्रममा छ। सामाजिक सेवाले खुसी र सन्तुष्टि दिन्छ।

तपाईंलाई महिला हुँ भन्ने महसुस हुन्छ?

महिला, पुरुष हरेक अवस्थामा समान छन्। तर समाजमा महिला कमजोर हुन्छन् भन्ने सामाजिक मान्यता स्थापित छ, जुन गलत हो। म महिला हुँ भन्ने फिटिक्कै लाग्दैन। म एक मानिस हुँ, काम गरेपछि मात्रै संसार बदल्न सकिन्छ भन्ने लाग्छ। मेरो कामले पुरुष साथीहरूसँग बढी संगत हुन्छ। यसले पनि घरकी छोरी हुँ भन्ने नै बिर्सन्छु।

नारी अधिकारका विषयमा तपाईं के भन्नुहुन्छ?

अधिकार भनेको माग्ने कुरा हैन। जन्मनासाथ पुरुषको जे जति अधिकार छ, महिलाको पनि समान अधिकार छ। एउटै प्राकृतिक प्रक्रियाले जन्मिएका महिला र पुरुष कसरी असमान? सहनु भनेको आफैंलाई भित्रबाटै मार्नु हो। आफ्नो क्षमताले भ्याएको काम गर्न किन रोकिने? आत्मबल बलियो भए, आर्थिक रूपमा सबल भए अधिकार मागिरहनु पर्दैन।

महिलालाई पछाडि पार्ने सामाजिक मान्यता र पारिवारिक समस्या नै रहेछन् त?

अवश्य पनि हो। धर्मको नाममा होस् या सामाजिक मान्यताको बहानामा, महिलालाई घरभित्रै सीमित पार्ने परिवार धेरै छन्। छोरीहरूको करिअर बनाउनभन्दा राम्रो ज्वाइँ खोज्न हतारिने बाबुआमा धेरै छन्। जीवन कस्तो बनाउने भन्ने त महिलामै निर्भर हुन्छ। म घर म्यानेज गर्छु, तिमी व्यापार सम्हाल भन्ने पुरुष कति जना छन् त ? महिलालाई सहयोग गर्ने घरपरिवार भएमा उनीहरूको कामको गति अझ बढ्न सक्छ।

महिला रोकिए संसार रोकिन्छ भन्छन् नि?

यो तीतो सत्य हो। उदाहरण छैन होला पुरुष एक्लै सफल भएको। संसार त प्राकृतिक रूपमै पनि महिलाबिना अधुरो छ। सत्य युगदेखि नै देवीहरू पावरफुल छन्। महिलाबिना पुरुषले संसार चलाउन सम्भव नै छैन। यो अवश्य रोकिन्छ।

महिलाको सफलताको मापन कसरी गर्ने?

उसले गरेको काम र कामले दिने परिणाम नै सफलताको कसी हो भन्ने लाग्छ। पैसा कमाउनु मात्रै सफल हुनु हो भन्ने मलाई लाग्दैन। तर जीवन निर्वाहका क्रममा आर्थिक रूपमा पनि सफल हुनैपर्छ। सफलताको मापनका लागि सामाजिक व्यक्तित्व बन्नुपर्छ भन्ने लाग्छ।

श्रीकृष्णजीलाई कसरी सम्झिनुहुन्छ?

मलाई बाटो देखाउने आइडियल पात्र हो उहाँ। प्रत्यक्ष रूपमा नभए पनि अदृश्य रूपमा सहयोग गरिरहनुभएको छ। नत्र यो हिम्मत, हौसला र लगाव कहाँबाट आउँथ्यो रु उहाँलाई बिर्सिएकै छैन, हरेक पल मसँगै हुनुहुन्छ जस्तो लाग्छ। उहाँले मलाई कलाकार बनाएर नयाँ जिन्दगी दिनुभयो।

श्रीकृष्णजीको वियोगपछिको समयलाई कसरी सम्झनुहुन्छ?

मैले खास जिन्दगी भोगेँ। साथी सर्कल र आफन्तको रियल तस्बिर बुझ्ने मौका पाएँ। जसलाई म साथी ठान्थेँ, उनीहरूको एक कल फोन आउँथेन। सहानुभूति देखाउन आउँथे र पाँच मिनेट भेट्थे उनीहरू। अब यो सकिई भन्नेहरू धेरै थिए। त्यो बेला मेरो परिवारबाहेक कोही थिएन मसँग। साथीभाइ, आफन्त सबै स्वार्थी हुने रहेछन्। म धेरै नै विक्षिप्त अवस्थामा पुगेँ। तर सोसल मिडियामा मेरा दर्शकहरूले अत्यन्तै माया गर्नु भो। उठ्नका लागि हौसला दिनुभो। ती बेलाको सहानुभूति मेरा लागि अमृत वचन हुन्। आफू राम्रो भएपछि जे गरे पनि राम्रै हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad