ad ad

छापा खबर


कोरोना त्रासदी लम्बिए नेपालकाे आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल झर्ने

कोरोना त्रासदी लम्बिए नेपालकाे आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल झर्ने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ३:१६,

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ।

अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायहरुले कोरोना भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा करिब १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका खबर आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन्।

नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने भएको हो।

चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको छ। कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धिमा थप शंकुचन आउने देखिएको हो। नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ।

अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन्। यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ।

अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ। यस्तो अवस्थामा कोरोना समस्या लम्बिदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल हुने दाबी उनीहरुको छ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा थप असर पर्न थालिसकेको जानकारी दिए।

‘अहिले सुरुमा पर्यटक आगमन र यातायातमा असर देखिएको छ। होटल सुनसान छन्,’ निर्देशक भण्डारीले भने, ‘यसले हाम्रो सेवा क्षेत्रमा असर पर्न थालिसकेको छ।’

भण्डारीका अनुसार कोरोनाका कारण सेवा क्षेत्रको हाम्रो लक्षित प्रगति हासिल हुनेमा शंका उत्पन्न भएको छ। ‘कोरोना समस्या विश्वभर कति समयसम्म रहन्छ, असर पनि सोही अनुसार हुनेछ,’ भण्डारीले भने, ‘विश्व अर्थतन्त्रमा आएको असरबाट हामी अछुतो हुन सक्दैनौं तर मात्रा फरक पर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .