गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ।
गम्भीर हाउभाउ तर रसिक आनीबानी। रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी बोलाउँछन्, कहिले हत्केलामा पैसा राखेर कलाकारलाई टिप्स उडाउने सोख पूरा गर्छन्।
ती दोहोरीप्रेमी अरु कोही नभएर माओवादी सशस्त्र द्वन्द्वकालका एक कमाण्डर कालीबहादुर खाम ‘विविध’ हुन्।
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध शृंखला भन्दै आजको नेपाल साप्ताहिकमा जनक नेपालले यो समाचार लेखेका छन्।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनी कोटेश्वरका रेष्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठको हत्याका मुख्य अभियुक्त हुन्।
त्यहाँबाट सुरु अपराध शृंखला डाँका, चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानासम्म पुग्यो।
पर्दाभित्र रक्तचन्दन, यार्सा, सुन र गिटी बालुवा तस्करीको अवैध सञ्जाल देखिन्छ।
प्रहरीको ट्रयाक रेकर्डमा उनी सिरियल क्राइमका मुख्य अभियुक्त हुन्।
प्रहरीले फरार सूचीमा राखेर एक दशकदेखि उनको खोजी गरिरहेको छ।
भेट्न चाहने जोकोहीका लागि सहजै उपलब्ध खामलाई प्रहरीले भने भेटाउन सकेको छैन।
उनी काठमाडौँको सामाखुसीमा बस्छन्, निजी स्कार्पियो गाडीमा हुइँकिन्छन्। ठेक्कापट्टाका विभिन्न काममा अप्रत्यक्ष जोडिएर सिंहदरबार वरपरै देखिरहन्छन्।
भित्रभित्रै पूर्वमाओवादी उच्च नेतृत्वसँग उनको सम्बन्ध अटुट छ।
Shares

प्रतिक्रिया