ad ad

छापा खबर


कोरोना संक्रमित देशबाट यसरी हुँदैछ निर्बाध नेपाल प्रवेश

कोरोना संक्रमित देशबाट यसरी हुँदैछ निर्बाध नेपाल प्रवेश

नेपालखबर
फागुन १७, २०७६ शनिबार २:१७,

कोरोना भाइरस भनेर चिनिने ‘कोभिड-१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड-१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो।

डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी नदेखिएको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडोस एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा ‘कोभिड–१९’ भित्रिन्न भनेर बस्न नहुने बताए।

‘कुनै पनि मुलुकले कोभिड–१९ आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ,’ ट्रेडोसले भने, ‘यसले जात, जातीयता र मुलुकको विकास नहेर्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्छ, यो भाइरस महामारी बन्नेतर्फ उन्मुख छ,’ उनले भने, ‘यो डराउने बेला हैन । यो समय संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने र मानिसको जीवन बचाउनुपर्ने बेला हो।’

डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो साता मात्रै युरोप र मध्यपूर्वदेखि अफ्रिकाको नाइजेरियासम्म भाइरस संक्रमण फैलिइसकेको छ।

डब्लूएचओका अनुसार बिहीबार मात्रै ब्राजिल, जर्जिया, ग्रिस, नर्ज म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा पहिलो पटक ‘कोभिड–१९’ को संक्रमण देखिएको छ । ५० देशका ८५ हजारभन्दा धेरै व्यक्तिमा यसको संक्रमण पाइएको छ।

संक्रमण बढ्ने भयले विश्वका विभिन्न देशले ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् भने कैयन् देशले संक्रमितको संख्या उच्च रहेका देशका नागरिकलाई प्रवेशमा रोक लगाएका छन्।

शनिबार बिहानसम्म दक्षिण कोरियामा करिब ३ हजार र जापानमा ९ सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ८ सय ८९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ।

बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन्।

यी पाँचै देशबाट नेपालमा निर्बाध पर्यटक भित्रिरहेका छन्। ‘कोभिड–१९’ को संक्रमण तीव्र बनेको जनवरीमा मात्रै विश्वका १ सय ७२ भन्दा धेरै देशबाट ६५ हजार ९ सय ९३ विदेशी र १ लाख १२ हजार ५ सय १४ नेपाली विश्वका विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको देखिन्छ।

फागुन ८ यताको आठ दिनमा मात्रै १२ हजार ७ सय ९६ नेपाल भित्रिएका छन् । जसमध्ये भाइरसको मुख्य जोखिममा रहेका पाँच देश चीन, इरान, इटाली, जापान र कोरियाका नागरिक मात्रै १ हजार ३ सय ७८ जना छन् ।

अध्यागमन विभागका अनुसार पछिल्लो आठ दिनमा चीनबाट ५ सय ७२, इरानबाट १७, इटालीबाट २ सय १९, जापानबाट ३ सय ४१, कोरियाबाट २ सय २९ विदेशी नेपाल आएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .