ad ad

छापा खबर


नेकपा शीर्ष नेता : भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ!

नेकपा शीर्ष नेता : भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ!

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार २:३२,

कार्यक्रमको तालिका पूर्वनिर्धारित नै हो तर तालिकामा पार्टीको समीकरणभित्र दुई भागमा बाँडिएका दुई–दुई जना नेता सहभागी हुनु संयोग थियो।

त्यसैले पनि बिहीबार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेल सहभागी हुने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे केही जानकारी आउँछ कि भन्ने अपेक्षा नेकपा कार्यकर्ताको थियो।

त्यसैले कार्यक्रमको सुरुमै वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज हितमान शाक्यले भने, ‘नेताहरूको कुरा र निर्णयबारे बेलाबेला बाहिर आउने चिजले हाम्रो दिमाग खराब गर्छ।’

आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेको समाचारअनुसार शाक्यको अभिव्यक्ति चार दिनदेखि उतारचढावपूर्ण रहेको नेकपाको आन्तरिक राजनीतिप्रति लक्षित थियो।

हुन पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने बहसमा नेतृत्व विभाजित भएपछि त्यसको तरंग नेकपाको कार्यकर्ता पंक्तिमा पुगेको थियो।

तर झन्डै चार घण्टा चलेको उद्घाटन सत्रमा नेताहरू यसरी प्रस्तुत भए कि नेकपाभित्र कुनै समस्या छैन, नेतृत्व एकताबद्ध छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीसँग व्यापक र सुदृढ संगठन भएको दाबी गर्दै एकता नखलबलिने बताए।

‘हाम्रो संगठन मजबुत छ, हामी कार्यकर्ताको बलमा टिकेका छौं,’ उनले भने, ‘हामी मान्छे अलमल्याउने खेलमा छैनौं, देश बनाउने संकल्पका साथमा अघि बढेका छौं।’

पार्टी नेतृत्वविरुद्ध पार्टीभित्रका नेताले चाहिँदो नचाहिँदो लेखेर प्रचारबाजी गरेको आरोप भने अध्यक्ष ओलीले लगाए । ‘पार्टीको आफ्नै कुनै सञ्चार माध्यम छैन, नेताहरूका आआफ्ना सञ्चार माध्यम छन्, उनीहरू आफ्ना नेताविरुद्ध क्रियाशील छन्,’ उनले भने, ‘लेखेर पार्टीको खोइरो खन्ने काम भएको छ, यो कुनै बहादुरी होइन, समय क्रममा त्यस्ता कुराको पार्टीले मूल्यांकन गर्छ।’

अध्यक्ष दाहालले दुई अध्यक्षबीच बेलाबेला विवाद हुने स्वीकार गर्दै यही कारण पार्टी भने नफुट्ने जिकिर गरे।

टुटफुट र आरोपप्रत्यारोपसहितको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास प्रस्तुत गर्दै उनले नेतामा अलिअलि विवाद हुनु अस्वाभाविक नभएको बताए।

‘नेकपा जमेको पानीपोखरीजस्तो होइन, गडगडाउने नदीजस्तो हो,’ अध्यक्ष दाहालले भने, ‘नेताहरू एउटै भइदिएहुन्थ्यो, मिलेर, शान्त भएर मिलेर हिँडे हुन्थ्यो भन्ने धेरैलाई लाग्न सक्छ । एकताबद्ध हुन कोसिस गर्ने हो । जुन दिन पार्टी विवादरहित र शान्त बन्छ, त्यो दिनबाट पार्टी चाहिन्न।’

आजभोलि अध्यक्षहरूबीच केही पो भइरहेको छ कि भन्ने कार्यकर्तालाई परेको बताउँदै दाहालले विवाद गर्ने अध्यक्षले नै समाधान पनि खोज्ने दाबी गरे । ‘पार्टीमा भुमरी परिरहन्छ । पार्टी भत्किन्छ, फुट्छ । विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ उनले भने, ‘हाम्राबारे मिडियामा आएका कुराको पछाडि कमरेडहरू नलाग्नुहोला।’

पछिल्लो समय विशेष गरी गत पुस २३ गते उपाध्यक्ष गौतम निवास भैंसेपाटीमा भएको गुट भेलापछि नेकपाभित्रको समीकरण स्पष्टै देखिएको छ।

त्यसपछि नै सभामुख चयन, अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संविधान संशोधनलगायत विषयमा अध्यक्ष ओली र दाहाल पक्षमा स्पष्टै कित्ताकाट देखिएको छ । त्यसपछि पनि ओली समूह र दाहाल समूहले बारम्बार रणनीतिक बैठक भेला गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .