ad ad

छापा खबर


जंगी अड्डाभित्र यसरी बढ्दै छ दूरी

जंगी अड्डाभित्र यसरी बढ्दै छ दूरी

नेपालखबर
फागुन १४, २०७६ बुधबार २:११,

नेपाली सेनाका इन्फेन्ट्री (साधारणतर्फ) र प्राविधिक (अन्य विशेष सेवा) अधिकृतबीच सैनिक मुख्यालय जंगी अड्डाभित्रै दूरी बढ्न थालेका संकेतहरू देखापरेका छन् ।

आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेको समाचारअनुसार हाल सेनामा करिब ९५ हजार सैनिक छन्, जसमध्ये करिब पाँच हजार प्राविधिक हुन्।

सैनिक नेतृत्वले इन्फेन्ट्रीलाई बढी महत्त्व दिएको र आफूहरूलाई दोस्रो दर्जाको रूपमा व्यवहार गरेको प्राविधिक अधिकृतहरूको गुनासो छ। प्राविधिकतर्फ इन्जिनियर, डाक्टर, लेखा र प्राड विवाकका सिपाही छन्।

सेनामा विकास निर्माणका कार्य हेर्ने इन्जिनियरिङ विभागमाथि सार्वजनिक रूपमै भ्रष्टाचार र अनियमितताको आरोप लाग्न थालेपछि प्राविधिक अधिकृतहरूमाथि कडाइ गर्न थालिएको थियो।

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदनलगायत विषयमा प्रश्न उठेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुसन्धान गर्न लगाएका थिए । त्यसयता प्राविधिक अधिकृतको काममा निगरानी बढाइएको हो।

हरेक काम अघि बढाउनुभन्दा पहिले प्राविधिकहरूले साधारणतर्फबाट नेतृत्व गर्ने सैनिक अधिकृतसँग सहमति लिनुपर्ने व्यवस्था मिलाइएको छ । कतिपय अवस्थामा साधारणतर्फका तल्लो दर्जाका सैनिक अधिकृतबाट सहमति लिनुपर्ने भएपछि प्राविधिक अधिकारी रुष्ट भएका हुन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे संगठनभित्र प्राविधिक र साधारण सैनिकबीच कुनै पनि दूरी वा द्वन्द्व नभएको दाबी गर्छन् । ‘बरु इन्फेन्ट्रीसरह प्राविधिकहरू पनि पोख्त हुनुपर्‍यो । आफ्नो प्रोफेसनबाहेक अरू कुरा पनि थाहा हुनुपर्‍यो भनेर प्राविधिकहरूलाई तालिम गराइएको छ,’ पाण्डेले भने, ‘त्यसलाई कसैले गलत रूपमा बुझेका हुन सक्छन्।’

सैनिक ऐनअनुसार सेनामा प्राविधिकले केही पदमा साधारणभन्दा बढी उमेरसम्म काम गर्न पाउँछन् । उदाहरणका लागि प्राविधिकतर्फका सहायक रथीले ५८ वर्षसम्म जागिर खान पाउँछन् भने साधारणतर्फका सहायक रथीको अवधि ५६ वर्षमात्रै हुन्छ ।

साधारणतर्फ भर्ना हुन एक वर्षभन्दा बढी कडा तालिम लिनुपर्छ तर प्राविधिकमा तीनमहिने तालिम लिए पुग्छ । प्राविधिकतर्फका सैनिक अधिकृत उपरथीभन्दा माथि बढुवा हुने प्रावधान छैन । रथी र महारथी ९प्रधानसेनापति० भने साधारणतर्फका मात्रै हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .