सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ।
मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
गत पुसमा अमेरिका र इरानबीच तथा अमेरिका र चीनबीचको द्वन्द्व बढेका कारण सुनको मूल्य निरन्तर बढेर ७५ देखि ७६ हजार रुपियाँ पुगेको थियो तर यतिबेला भने चीनको उहान प्रान्तबाट फैलिएको कोभिड १९ भाइरसको प्रभाव सुन बजारमा पनि परेको बजार विश्लेषकहरूको भनाइ छ।
उक्त भाइरसको प्रकोपका कारण लगानीकर्ता सुन बजारमा केन्द्रित भएका कारण सुनको मूल्य बढेको हो । समाचार तयार गर्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १६०७.८० डलर पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ६.६० डलर बढेको हो।
एक औँस बराबर ३१ ग्राम हुन्छ । सुनको मूल्यवृद्धिको प्रवृत्ति हेर्दा नेपाली बजारमा प्रतितोला करिब ८० हजार रुपियाँ पुग्ने अनुमान गरिएको सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।
सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाए पनि नेपाली बजारमा सामान्य चहलपहल भने देखिएको छ। विवाह, ब्रतबन्धलगायतका शुभ साइत परेका कारण पनि बजारमा सुन खरिदकर्ता रहेको बज्राचार्यले बताए।
Shares
प्रतिक्रिया