छापा खबर


पर्यटन मन्त्रालयले घोषणा गर्‍याे- नेपाल कोरोनामुक्त : विज्ञले जनाए आपत्ति!

पर्यटन मन्त्रालयले घोषणा गर्‍याे- नेपाल कोरोनामुक्त : विज्ञले जनाए आपत्ति!

नेपालखबर
फागुन ७, २०७६ बुधबार ०:१३,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणा गरेको छ।

मन्त्रालयले आफ्ना मातहतका निकायसँग मंगलबार सिंहदरबारमा आयोजना गरेको छलफलमा यस्तो घोषणा गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

छलफलमा पर्यटनमन्त्री योगेश भट्टराईसहित पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, भ्रमण वर्षका संयोजक सुरज वैद्यलगायतका पदाधिकारी सहभागी थिए।

‘चीनमा देखिएको कोरोना भाइरसको प्रभावबाट नेपालमा नकारात्मक असर पर्न नदिन नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न र पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गर्नुपर्ने वैकल्पिक रणनीतिका सम्बन्धमा यस्तो घोषणा गर्नुपरेको हो,’ मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तीन दिनभित्र तयार गर्न नेपाल भम्रण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको छ।

यी सामग्री मन्त्रालय, बोर्ड, सचिवालय र विदेशस्थित नेपाली नियोगका वेबपेजमा पनि राखिनेछन्। बैठकले चीनले बेहोरिरहेको संकटमा साथ र सहयोग व्यक्त गर्दै चीनमा पनि नेपालको प्रचार गर्ने निर्णय गरेको छ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न नदिन यस्तो घोषणा गरिएको बताए।

‘एउटा केस थियो, रिकभर भइसक्यो। त्यसपछि आजसम्म देखापरेको छैन। पर्यटकलाई आऊ भन्न त पाइयो नि,’ उनले भने, ‘हामीले नाकाहरूमा सावधानी अपनाएकै छौं। इमर्जेन्सी अवस्थामा के गर्ने हाम्रो तयारी छँदै छ। भोलि देखिए कोरोना भाइरसमुक्त नभनौंला। आजको अवस्थामा कोरोना फ्रि भन्न किन हिचकचाउनुपर्ने?’

पर्यटन मन्त्रालयले गरेको निर्णयप्रति स्वास्थ्य क्षेत्रका विज्ञहरूले आपत्ति जनाएका छन्।

‘अहिले मुलुकलाई कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा भन्न मिल्दैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले भने, ‘चीनसँग सीमा जोडिएकाले र सीमा क्षेत्रको १० मिलोमिटर वरपर बिनाभिसा ओहोरदोहर गर्न सक्ने भएकाले उच्च जोखिममा छौं। मन्त्रालयको हतारमा यस्तो निर्णय गर्‍यो।’

स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले पनि हाल नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र भन्ने अवस्था नरहेको प्रतिक्रिया दिए। ‘एक्कासि संक्रमित देखियो भने अन्तर्राष्ट्रिय मिडियाले गर्दा हामीलाई झन् अप्ठेरो हुन्छ,’ ती पदाधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad