छापा खबर


दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य

दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १:३३,

परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ।

यो सूचनापछि परोक्ष रूपमा नेपाल-भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन्।

‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ,’ अध्यागमन विभागका एक अधिकारीले भने। यो खबर आजको कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेका छन्।

दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार, ‘दिल्ली आउने नेपाली यात्रुको पासपोर्टमा इन्ट्री परमिट देखियो भने मात्रै भारतीय अध्यागमनले एक्जिट–परमिट दिने नियम अनिवार्य’ भएको छ।

‘यो नियमको व्यवस्था हाम्रो अन्तरसरकारी समन्वयमार्फत परराष्ट्रले भारतलाई गरेको अनुरोध बमोजिम हो, यसकारण यो व्यवस्थामा पारस्परिक समान हैसियतको व्यवहार (रेसिप्रोकिसिटी) आवश्यक रहन्न,’ रेग्मीले भने।

आवागमनमा यो ‘असमान प्रबन्ध’ लागू भएको अवस्थामा पशुपति दर्शनमा स्थलमार्गबाट आएका भारतीयले भने काठमाडौंबाट विमान चढेर सहजै दिल्ली उत्रन पाउनेछन्।

दूतावासले जारी गरेको सूचनामा ‘नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपालीहरूलाई स्थलमार्गबाट भारत प्रवेश गर्न सहज रहेको सर्वविदितै रहेको’ भनिए पनि ‘स्थलमार्ग हुँदै भारत आएर तेस्रो मुलुक उड्न खोज्दा समस्या आइपर्ने भएकाले काठमाडौंबाटै उडान भर्न’ आग्रह गरिएको छ।

तर सूचनामा भनिएजस्तो तेस्रो मुलुक उड्न खोज्दा मात्रै नभएर विशेष परिस्थितिमा सडकमार्गबाट दिल्ली गएर विमानबाट काठमाडौं फर्कन चाहने नेपाली यात्रु पनि ‘उडान प्रतिबन्धित’ स्थितिमा पुगेका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad