ad ad

छापा खबर


मुना कार्की हत्या प्रकरण : महिला कामदारले भनिन्- विजय रिसाहा स्वभावका थिए

मुना कार्की हत्या प्रकरण : महिला कामदारले भनिन्- विजय रिसाहा स्वभावका थिए

नेपालखबर
फागुन १, २०७६ बिहिबार ०:३१,

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीन जनासँग वयान लिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन्।पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन्।

परिसरका एसपी दुर्गा सिंहले घटनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृतक कार्कीले पनि विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ।’

उनीहरूले हत्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन्।

घटनाको कारण पहिल्याउन प्रहरीले हत्या भएकी कार्की र हत्यापछि आत्महत्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ।

‘घटना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ । त्यसैले, घटनाअघि र घटनापछि घटनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ । कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डिलेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन।’

दुवै मृतकको शव परिवारले बुझेका छन् । बुधबार कार्की र चौधरी परिवारले शव बुझेको प्रहरीले जनाएको छ।

त्यस्तै, कार्कीका श्रीमान् अर्जुन र चौधरीका बुबा जानकीले घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीमा छुट्टाछुट्टै जाहेरी दिएका छन् । ‘सद्गतका लागि दुवै परिवारले शव बुझेका छन्, घटना अनुसन्धानका लागि दुवै पक्षबाट जाहेरी पनि परेको छ,’ परिसर प्रमुख एसएसपी राईले भने।

सोमबार सानेपास्थित कार्कीनिवासमै कार्की र चौधरी मृत भेटिएका थिए। निवासमा भएका सिसिक्यामेरा फुटेज हेरेपछि प्रहरीले कार्कीको हत्या घरेलु मजदुर चौधरीले नै गरेको पुष्टि गरेको छ । हत्यापछि चौधरीले आत्महत्या गरेको प्रहरी निष्कर्ष छ । तर, हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .