भारतको केन्द्र अर्थात् दिल्लीको विधानसभा चुनावी लडाइँमा आम आद्मी पार्टी (आप) ले फेरि जित हासिल गरेको छ।
मत परिणामअनुसार आपले अघि सारेको विकासका नारासामु भारतीय जनता पार्टी (भाजपा) को चर्का राष्ट्रियता र सुरक्षाका नारा फिक्का सावित भएका छन्।
दिल्लीमा आपका संयोजक अरविन्द केजरीवाल पुनः मुख्यमन्त्री बन्ने भएका आजको कान्तिपुर दैनिकमा नयाँदिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन्।
दिल्ली विधानसभाका लागि गत शनिबार सम्पन्न मतदानको मंगलबार आएको अन्तिम मत परिणाममा आपले कुल ७० मध्ये ६२ सिटमा जित निकालेको छ।
केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपाले भने आठसिट मात्र जितेको छ। गत चुनावमा आपले ६७ सिट जितेको थियो। दिल्लीको विधानसभामा आपको यो लगातार तेस्रो जित हो।
दिल्लीको विधानसभा चुनावलाई आप र भाजपा दुवैले प्रतिष्ठाको विषय बनाएका थिए। आपलाई आफू नेतृत्वको सरकारलाई निरन्तरता दिनु थियो भने भाजपा पछिल्लो एक वर्षमा हात परेको एक पछि अर्को चुनावी झट्कालाई अन्त्य गर्न चाहन्थ्यो।
आपले जनमतलाई आफ्नो पक्षमा पार्न विगत पाँच वर्षमा आफूले गरेका विकासका कामको फेहरिस्त राखेको थियो। उसले शिक्षा, स्वास्थ्य, सफाइलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दावी गरेको थियो।
भाजपाले भने आपको दावीलाई नकार्दै राष्ट्रियता र मुलुकको सुरक्षाका लागि मत दिन आह्वान गरेको थियो। तर गत वैशाखमा सम्पन्न लोकसभा चुनावमा पुरै सात सिटमा भाजपालाई विजयी बनाएका दिल्लीका मतदाताले विधानसभाको चुनावमा आपको विकासको नारालाई साथ दिएका छन्।
पछिल्ला दुई चुनावमा ‘नराम्ररी’ हार व्यहोरेको भाजपा यसपटक जसरी भए पनि दिल्लीको नेतृत्व गर्न चाहन्थ्यो।
त्यही भएर केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भाजपाले विधानसभामा पनि पुरै शक्ति लगाएको थियो। पार्टीले मोदी सरकारका कैयौं मन्त्रीसहित २०० भन्दा बढी लोकसभा सांसदलाई चुनावी प्रचारमा खटाएको थियो।
मंगलबारको यो नतिजासँगै पछिल्लो एक वर्षयता मात्रै भाजपाले प्रदेश चुनावमा लगातार चौथो धक्का व्यहोरेको छ। दुई महिनाअघि भएको छत्तीसगढ विधानसभा चुनावमा पनि कांग्रेस गठबन्धनसँग भाजपाले नमिठो हार व्यहोरेको थियो।
चुनावअघि गरिएका केही मत सर्वेक्षण र मतदानपछिका मतदाता सर्वेक्षण (एग्जिट पोल) ले पनि आपले अत्यधिक बहुमतका साथ जित हात पार्ने देखाएका थिए।
ती सबैजसो सर्वेक्षणले आपले ४५ देखि ६० सिट ल्याउने पूर्वानुमान गरेका थिए। त्यसैगरी भाजपा ५ देखि १० र कांग्रेस ५ सिटमा सीमित हुने अनुमान गरेका थिए। नभन्दै भयो पनि त्यस्तै।
आपले ती सर्वेक्षणले भनेजस्तै फेरि एक पटक दिल्लीमा सरकार बनाउने अवसर पाएको छ। सँगै दिल्लीका मतदाताले आपलाई सरकारको नेतृत्व गर्ने अर्को एउटा अवसर दिएर राष्ट्रियताका चर्का नारा भन्दा शिक्षा, स्वास्थ्य, पानी, बिजुली, ढल जस्ता दैनिक जीवनका न्यूनतम आवश्यकता आफूहरुलाई बढी महत्वपूर्ण रहेको प्रष्ट सन्देश पनि दिएका छन्।
लगातार तेस्रो पटक दिल्ली विधानसभा निर्वाचनमा जित हासिल गरेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतका विभिन्न दलका नेताले बधाइ दिएका छन्।
यसरी बधाइ दिनेमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित कैयौं राज्य मुख्यमन्त्री समेत छन्। ‘दिल्ली विधानसभान निर्वाचनमा जित हासिल गरेको आप र अरविन्द केजरीवालजीलाई बधाई। दिल्लीका जनताको चाहना पूरा गर्न सफल हुनुहोस् भन्ने कामना,’मोदीले ट्वीट गरेका छन्।

प्रतिक्रिया