ad ad

छापा खबर


कामदार विजयले पूर्वसचिवकी पत्नी मुनाको हत्या किन गरे?

कामदार विजयले पूर्वसचिवकी पत्नी मुनाको हत्या किन गरे?

नेपालखबर
माघ २८, २०७६ मंगलबार १:४९,

पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे।

१२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्।

उनी प्रायः बिहानभरि घरै हुन्थिन्। उनको घरमा २२ वर्षीय विजय चौधरी नौ वर्षदेखि कामदारका रूपमा बस्थे।

पशुपतिनाथ दर्शन र साथीभाइसँग केहीबेरको भेटघाटपछि कार्की करिब सवा ११ बजेतिर घर आइपुगे। घर आइपुग्दा मूलढोका बन्द भएकाले कार्कीले घन्टी बजाए। कोही बोलेनन्। जोडजोडले ढक्ढक्याउँदा पनि ढोका खुलेन।

अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चिहाउँदा भयानक दृश्य देखियो। रगत लतपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रुन-कराउन थाले। छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे।

‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए। थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे। दुई समय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै कार्कीको घरमा पुग्यो।

प्रहरीको सहयोगमै भान्साकोठामा क्षतविक्षत अवस्थामा फेला परेकी मुनालाई ११ः४० मा स्टार अस्पतालमा पुर्‍याइएको थियो। तर अस्पतालले उनको बाटामै मृत्यु भइसकेको बतायो।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार मुनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। चिर्पट र पिर्का पनि कुटपिटमा प्रयोग भएको प्रहरीले जनाएको छ।

‘कामदारले नै हत्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी तामाङले भने, ‘उसले किन हत्या गर्‍याे भन्नेचाहिँ अलि रहस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ याे खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्। 

डिएसपी तामाङका अनुसार मृतक महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो।

‘घटना कसरी भयो भन्ने थाहा भएन। नजिकै बसेर पनि रोएको र चिच्याएको आवाज सुनिएन। भान्सामा मुना रगताम्मे अवस्थामा थिइन्। कामदार पाहुना राख्ने कोठामा झुन्डिएको अवस्थामा थिए,’ छिमेकी दानबहादुरले भने।

उनका अनुसार घरमा कामदार र परिवारबीच कुनै मनमुटाव भएको जानकारी थिएन। दुई वर्षअघि भने विप्लव नेतृत्वको टोलीले कार्कीको घरमा चोरी गरेको थियो।

चोरीपछि प्रहरी प्रभाग सानेपा र पूर्वसचिव कार्कीको घरको बीचमा सिसी क्यामेरा जडान गरिएको थियो। हत्या भएको दृश्य सिसीटिभीका पनि रेकर्ड भएकाले प्रहरीले सोमबार फुटेज हेरेको थियो। फुटेजमा कामदार चौधरीले एकोहोरो कुटपिट गरिरहेको दृश्य देखिएको छ।

दृश्यमा घाँटी कसेको, कुटपिट गरेको र भुइँमा लडाएको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि चौधरीले सोही तलाको अर्को कोठामा गएर आत्महत्या गरेको प्रहरीको अनुमान छ।

हत्यापछि आत्महत्या गरेका कामदारका चौधरीको घर दाङ हो। उनले घरको कामसँगै गाडी सिक्दै थिए। कार्कीका दुई छोरी र एक छोरा छन्। छोरीहरू विदेशमा बस्छन्। १२ वर्षीय छोरा युलेन्स स्कुलमा कक्षा ७ मा पढ्छन्।

नौ वर्षअघि कसैले १३ वर्षीय चौधरीलाई दाङबाट काठमाडौं ल्याई एक अनाथालयमा राखेको थियो। रङ लगाउने एक कामदारले पूर्वसचिव कार्कीको घरमा कामदारका रूपमा चौधरीलाई ल्याइदिएका थिए।

अनाथालयमा बसेर कक्षा ६ सम्म पढेको चौधरीलाई कार्कीले त्यसभन्दा माथि पढाएनन्। घरमा सामान्य काम गर्ने र हेरचाह गर्ने जिम्मासहित कार्कीले उनलाई राखेका थिए।

‘कार्की परिवारसँग बस्दा चौधरी खुसी नै थिए। घरमा त्यस्तो नराम्रो व्यवहार गरेको पनि देखिँदैनथ्यो,’ छिमेकी दानबहादुरले भने, ‘त्यत्रो वर्ष त्यही बसेर यो अवस्थामा आइपुग्दा उनले किन त्यस्तो निर्णय गरे थाहा भएन।’

उनका अनुसार चौधरीका बाबुआमा को हुन् भन्ने विवरणसमेत खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .