नोवल कोरोना भाइरस संक्रमणका कारण पहिलोपटक गैरचिनियाँ नागरिकको मृत्यु भएको छ।
एक अमेरिकी नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अमेरिकी अधिकारीले शनिबार पुष्टि गरेका छन्। जापानले पनि भाइरसकै कारण आफ्ना एक नागरिकको मृत्यु भएको जनाएको छ।
भाइरसको उद्गमस्थल हुबेई प्रान्तको राजधानी उहानमा गत बिहीबार ६० वर्षीय एक अमेरिकी नागरिकको मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले बताएका छन्।
निमोनिया देखिएपछि उहानस्थित अस्पतालमा भर्ना भएका ६० वर्ष हाराहारीकै एक जापानी नागरिकको कोरोना भाइरस संक्रमणकजस्तै लक्षणका कारण मृत्यु भएको जापानी विदेश मन्त्रालयले जनाएको छ, एजेन्सीलाई उधृत गर्दै आजको कान्तिपुरले लेखेको छ।
‘जापानी नागरिकलाई कुन रोग लागेको थियो भन्ने ठ्याक्कै भन्न नसकिएकाले निमोनियाका कारण मृत्यु भएको भनिएको छ,’ चिनियाँ चिकित्सा अधिकारीले जनाएका छन्।
गत वर्षको अन्त्यतिर चीनको हुबेई प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म चिनियाँ नागरिकको मात्रै मृत्यु भएको थियो।

प्रतिक्रिया