ad ad

छापा खबर


नेकपामा राजनीतिक कार्यदिशा विवादः यसरी कुरा मिल्यो प्रचण्ड-ओलीबीच

नेकपामा राजनीतिक कार्यदिशा विवादः यसरी कुरा मिल्यो प्रचण्ड-ओलीबीच

नेपालखबर
असार १५, २०७६ आइतबार १:१२,

सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।

पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो।

जनताको जनवाद कि जनताको बहुदलीय जनवाद ९जबज० कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए।

प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ(बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।

पार्टी एकता गर्दा जबज र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा बहसमा लैजाने गरी स्थगन गरिएको थियो। तत्कालीन एमालेले जबज र तत्कालीन माओवादीले एक्काइसौं शताब्दीको जनवाद र माओवाद मान्दै आएका थिए।

महाधिवेशनसम्म समाजवाद उन्मुख हुने गरी जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएर जाने सहमतिमा एमाले र माओवादीबीच एकता भएको थियो।

संगठनात्मक विवादमा रुमल्लिरहेका बेला सचिवालय बैठकमा कार्यदिशाको किचलो बढेको थियो। त्यसपछि एक सातायता प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग एक्लाएक्लै संवाद गर्दै आएका थिए।

उनले शनिबार भने जनताको जनवादलाई पार्टी कार्यक्रम बनाएर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा अर्का अध्यक्ष दाहालकै सामुन्ने ओलीले पार्टी कार्यक्रम जनताको जनवाद हुने बताए।

यद्यपि, उनले कार्यक्रमको नाम जे दिए पनि त्यसभित्रको अन्तर्वस्तु भने जबजकै हुने स्पष्ट पारे। ‘समाजवादसम्म पुग्ने सिद्धान्त जनताको बहुदलीय जनवादको अन्तर्वस्तुको हुन्छ’, उनले भने, ‘जनताको बहुदलीय जनवादकै विशेषताअनुसार पार्टी अघि बढ्छ। तर, हामीले कार्यक्रमको नाम जनताको जनवाद राखेका छौं। त्यही कार्यक्रम राखेर अघि बढ्छौं।’

वैचारिक बहस चर्किएको भनिएका बेला ओली र दाहाल दुवैले एकै मञ्चमा उभिएर सम्बोधन गरे। ओलीको अभिव्यक्ति आएपछि अब नेकपाको संक्रमणकालीन राजनीतिक कार्यदिशा जनताको जनवाद हुने देखिएको हो। नेकपाले जनताको जनवादको अहिलेसम्म व्याख्या गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .