ad ad

छापा खबर


काठमाडौंमा पक्राउ परेकी ‘धर्तीमाता’द्वारा बुटवलमा पनि यस्तो चर्तिकला!

काठमाडौंमा पक्राउ परेकी ‘धर्तीमाता’द्वारा बुटवलमा पनि यस्तो चर्तिकला!

नेपालखबर
असार १५, २०७६ आइतबार ०:५८,

अघिल्लो साता काठमाडौंको भद्रकालीमा युवतीमाथि हातपात गरेको कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।

बुटवलका दुई व्यक्तिलाई पनि धारिलो हतियार प्रहार गरेको आरोपमा कुँवरले बुटवल प्रहरीले पक्राउ गरेको थियो। प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई व्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टि गरे। गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छन्।

प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरिष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहारबाट घाइते भएका उनीहरूले प्रहरी समक्ष उजुरी गरेका थिए। पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरियो। तर पीडितले नै उनीविरुद्ध हालिएको उजुरी फिर्ता लिएको प्रहरीको भनाइ छ।

बुटवलको घटना मंसिर ११ को हो। सो घटनापछि माताको भेषमा जे गर्दा पनि हुन्छ भनेर उनमा आत्मबल बढेको देखिन्छ। यो खबर आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका हुन्।

प्रहरी निरीक्षक केसीले कुँवरविरुद्ध उजुरी पर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको बताए। उनका अनुसार माताले कुटेको, निको पार्छु भनेर ठगेको भन्नेजस्ता उजुरी आएका छन्। उजुरीमाथि गम्भीर अनुसन्धान भइरहेको उनले बताए।

 ‘कुँवरविरुद्ध सर्वसाधारणबाट थरीथरी उजुरी परेका छन्’, उनले भने, ‘उहाँलाई बोलाएर सोधपुछ गर्ने प्रक्रियामा थियौं। काठमाडौं गएकाले सोधपुद्ध गर्न सकिएन। प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको छ।’

कुँवर २०५८ सालदेखि गुल्मी छाडेर हिँडेकी हुन्। आफूलाई माता चढेपछि गाउँ छाडेर बुटवल आएको उनले बताएको बुटवल प्रहरीको भनाइ छ। कुँवर वुटवल आएपछि चौराह (बेस क्याम्प) प्रदर्शनी मण्डपमा बस्दै आएकी थिइन्। बुटवलमा उनी माता उत्रने नाममा एकसरो लुगा लगाएर ध्यानमा बस्थिन्। 

कुँवरले माताको काम पनि त्यहींबाट सुरु गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनलाई करिब एक वर्षअघि प्रदर्शनी मण्डपबाट स्थानीयले बल प्रयोग गरेर हटाएको थिए। स्थानीयले प्रदर्शनी मण्डपबाट हटाएपछि उनी कालिनकानगर, लखनपथमा डेरामा बस्न थालेकी हुन्।

कुँवरले लखनपथपस्थित डेराबाट माताको काम गर्दै आएको उनका भाइ विजयले बताए। विजयका अनुसार कुँंवर बुटवलमा माता भेष धारण गरेको तीन वर्ष भयो। ‘धेरै भयो गाउँ छाडेको। म तपाईसँग सबै कुरा भन्न सक्ने अवस्थामा छैन,’ विजयले भने।

कुँवर केही महिनाअघि गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगा पुगेर ध्यान बसेको गुल्मी प्रहरीले बतायो।  वैशाखमा रेसुंगामा एक महिना ध्यान गरेर उनी बुटवल फर्केकी थिइन्। गुल्मी छाडेपछि उनी काठमाडौं आएकी थिइन्। काठमाडौंबाट उनी बुटवल गएर बस्न थालेकी हुन्।  काठमाडौंको मित्रनगरस्थित गोधुली रोधीघरमा  उनले गायिकाको रुपमा काम गरिन्।

भाइ विजयले कुँवरले काठमाडौंको रोधीघरमा गीत गाउने गरेको स्वीकारे तर कुन रोधीघरमा  कति सालमा काम गरेको हो भन्ने खुलाउन चाहेनन्। काठमाडौंबाट बुटवल गएपछि पनि कुँवरले सुरुसुरुमा रोधीघरमा नै गीत गाउने काम गरिन्। रोधीघरमा गाउने काम गर्दागर्दै माता उत्रिएको भन्दै उनले गाउन छाडेको प्रहरी अधिकारीको भनाइ छ। विजयका अनुसार कुँवरले काठमाडौं छाडेको पाँच वर्षभन्दा बढी भएको छ।

बुटवल प्रहरीका अनुसार कुँवरलाई हेराउन/देखाउन नेता, व्यापारी,  कलाकार, सरकारी उच्च अधिकारीलगायत उनको लखनपथस्थित डेरामा पुग्छन्। विजयका अनुसार पछिल्लो समय उनलाई भेट्न आउनेको संख्या ह्वातै बढेको थियो। उनका भक्त पनि बढेका थिए। भक्तले नै उनको खर्च जुटाइदिन्थे।

कुँवर प्रहरी हिरासतमा
बोक्सी भगाउँने निहुँमा भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोप लागेकी कुँवरलाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले कुँवरलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको थियो। प्रहरीले कुँवरलाई शुक्रबार नै अदालतमा उपस्थित गराएर म्याद लिएको छ।  

डिएसपी बोगटीका अनुसार कुँवरले आफूलाई देउता चढेकाले ‘त्यस्तो’ गरेको बयान दिएकी छिन्। ‘देउताले अराएअनुसार काम गर्ने हो,’ कुँवरलाई उद्धृत गर्दैै डिएसपी बोगटीले भने, ‘देउता चढेपछि म के गर्छु, के भन्छु मलाई नै थाहा हुँदैन। जे गरें देउता चढेपछि गरें।’ कुँवरले देउता चढेपछि खुकुरी पनि नचाउने गरेको बयान दिएको बोगटीले बताए। माता चढेका बेला आफूबाट युवतीमाथि हातपात हुन गएको  भन्दै उनले प्रहरीसमक्ष माफी मागेकी छन्।

हिरासतमा पनि माता चढेको भन्दै कुँंवर काम्ने र उफ्रिने गरेकाले थप बयान लिन समस्या भएको जानकारी बोगटीले दिए। यसै कारण प्रहरीले उनलाई सार्वजनिक गर्न सकेको छैन।  बुटवलबाट असार १ गते काठमाडौं आएकी कुँवरले ५ गते भद्रकाली मन्दिरमा बोक्सी भगाउने नाममा एक युवतीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।

भिडिओको आधारमा नागरिक दैनिकले खोजी गर्दा आफूलाई ‘धर्तीमाता’ का रुपमा चिनाउने विष्णु कुँवर युवतीलाई बोक्सी भगाउने नाममा कुटपिट गरेको खुल्न आएको थियो। नागरिकमा यस विषयमा समाचार चापिछएपछि प्रहरीले कुँवरको खोजी गरेको थियो। कुँवर ‘तँ को होस् ? छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सार्वजनिक स्थलमा युवतीमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा कुँवरविरुद्ध अनुसन्धान थालिएको जानकारी दिए।

बोक्सी भगाउने निहुँमा भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको आरोप लागेको कुँवरलाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .