छापा खबर


पोल्यान्ड हिँडेका १७ नेपाली अजरबैजानमा यसरी परे ४ महिना बन्धकमा

पोल्यान्ड हिँडेका १७ नेपाली अजरबैजानमा यसरी परे ४ महिना बन्धकमा

नेपालखबर
माघ १५, २०७६ बुधबार ३:५,

सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने।

उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए। प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए। तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन्। चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन्।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो। कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो। यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ। लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो। विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनीजस्तै पोल्यान्ड नै हिँडेका थिए। यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए। तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे।

उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए। अजरबैजानको एयरपोर्टमा उत्रियौँ। मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो। त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौँ। जो पछि हामीसँगै बन्दी बने।’

विमानस्थल पुगेपछि अजरबैजानको बिजनेस भिसा हातमा
पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन। उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए ।

यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए। वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्‍यो। तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए।

चार महिनाको बन्धक जीवनपछि अजरबैजानबाट भागेर नेपाल आएका ज्ञवालीले भने, ‘वर्किङ भिसामा लैजाने भनेको थियो। हामी त्यही मनस्थितिमा थियौँ। जब विमानस्थल पुग्यौँ, हाम्रो हातमा भिसा पर्‍यो। हेर्दा पोल्यान्डको नभई अजरबैजानको रहेछ। त्यो पनि वर्किङ नभई बिजनेस । छाँगाबाट झरेझैँ भयो। तर, विकल्प थिएन, किनकि रकम दलालको हातमा परिसकेको थियो। दुबई हुँदै अजरबैजान पुग्यौँ । चार महिनाको बन्धक जीवनपछि बल्ल बाँचेर नेपाल फक्र्यौं।’ यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी
पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पर्ने लामा पक्राउ परेको र उनीविरुद्ध जाहेरी आउने क्रम जारी रहेको बताए । ‘पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पारेको अभियोगमा राजकुमार भनिने गुणराज लामा पक्राउ परेका छन् । उनीविरुद्ध जाहेरी आउने क्रम जारी छ। अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad