छापा खबर


युरोपमा अचाक्ली गर्मी, केहीको मृत्यु

युरोपमा अचाक्ली गर्मी, केहीको मृत्यु

नेपालखबर
असार १४, २०७६ शनिबार ०:५९,

युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ।

फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।

अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ ।

फ्रान्ससँगै जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा जुन महिनामा हुने अहिलेसम्मकै धेरै तापक्रम पुगेको छ ।

स्पेनमा भने यहाँको सरकारले सम्भावित खतराका लागि तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यहाँका विभिन्न ८ प्रदेशलाई ‘रेड अलर्ट एरिया’ को घोषणा गरिएको छ । साथै थुप्रै ठाउँमा ४२ डिग्री सेल्सियससम्म तापक्रम नाघ्नसक्ने अनुमान गरिएको छ ।

यस्तै इटालीको सरकारले पनि १६ सहरलाई संकटग्रस्त क्षेत्रको रूपमा चित्रित गरेको छ ।

गर्मीका कारण युरोपका विभिन्न सहरमा केहीले ज्यान नै गुमाएका छन् । फ्रेन्च पत्रिका ‘मिदि लिब्रे’ को हवाला दिँदै फ्रान्समा मात्रै तीनजनाको ज्यान गएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यही साता स्पेनमा एक १७ वर्षे किशोर र ८० वर्षे वृद्धको भएको मृत्युको कारण पनि अत्याधिक गर्मी नै हुनसक्ने बताइएको छ । किशोरको खेतमा मृत्यु भएको थियो भने वृद्धको बाटोमा हिँड्दाहिँड्दै ज्यान गएको हो ।

गर्मीकै कारण थुप्रै स्कुलका परीक्षासमेत स्थगित गराइएको छ । मृतकको संख्या यकिन भने छैन । गर्मीसँगै प्रभावित क्षेत्रमा स्वीमिङ पुल, नदी र समुद्री किनारमा मानिसको घुइँचो लाग्न थालेको छ ।

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पनि हरेक दिन मृत्यु हुनेको संख्या रहेको भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । यूकेमा पनि प्रहरीले सर्वसाधारणलाई गर्मीबाट बच्न सचेत गराएको छ ।

मौसमविद्हरूका अनुसार सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपका विभिन्न सहरमा तापक्रम बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad