महिनावारी भएकी उनी घरभित्र होइन, नजिकै बारीमा बसिन्। स्याउलाको टेको लगाएर चिसो भुइँमा रात काट्न छाउगोठभन्दा कष्टकर भयो।
‘छाउगोठ भत्किएपछि घरभित्र सुत्न पाउँछु भन्ने लागेको थियो तर सकिएन,’ पञ्चपुरी–६, बाबियाचौरकी किमसरा विकले भनिन्, ‘चिसो लाग्यो । शीतलहरले सतायो।’
छाउपडीविरुद्धको अभियानमा साताअघि गाउँ पसेको प्रहरी टोलीले उनको पनि छाउगोठ भत्काएको थियो ।
गोठ भत्काउन अघि सरेको जत्थाका कुरा सुन्दा उनलाई अब महिनावारीका बेला घरैमा बसौंला भन्ने लागेको थियो । टोली गयो।
महिनावारी भयो तर परम्परा निर्वाहको किशोरावस्थादेखिको चलनलाई उनले त्याग्न सकिनन् । यो खबर आजको कान्तिपुर दैनिकमा सुर्खेतबाट चाँदनी कठायतले लेखेकी छन्।
महिनावारीका बेला परिवारका सदस्यलाई न उनले ‘म घरभित्रै बस्छु’ भन्न सकिन् न त कसैले ‘बाहिर नजाऊ’ नै भने । त्यसैले उनी बारीमा पुगिन्, रूखका स्याउला झारेर गाडिन्। त्यसैमा सकसका साथ मुन्टो लुकाइन् । ‘भित्र बसे देउताको डर, बाहिर बसे चिसोले ज्यान लैजाने अवस्था भयो,’ उनले भनिन्।
छाउगोठ भत्काउने अभियान थालेपछि अहिले थुप्रै महिलाको नियति विकको जस्तै भएको छ। महिनावारीका बेला किशोरी र महिला घरमा बस्दैनन् । बाहिरको छाउगोठ भत्काइएका छन्।
कानुनी कारबाहीका डरले हतार हतार पुनः छाउगोठ उभ्याउने हिम्मत कसैमा छैन । बारी र कान्लामा कतै स्याउला बारेर, कतै त्रिपाल टाँगेर बसेका देखिन्छन् । उनीहरूको अवस्था स्थानीय प्रशासनबाट छिपेको छैन तर कसैले पनि त्यसको सोधखोज भने गरेको छैन।
प्रतिक्रिया