छापा खबर


विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै, यस्तो आयो विश्व प्रतिवेदन

विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै, यस्तो आयो विश्व प्रतिवेदन

नेपालखबर
माघ ७, २०७६ मंगलबार ०:६,

विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै गएका छन्।

त्यस्तै, विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाका सम्पूर्ण ३२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ।

विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएकोभन्दा बढी सम्पत्ति छ।

स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनअघि अक्सफामले सार्वजनिक गरेको असमानतासम्बन्धी वार्षिक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता अझ फराकिलो भएको देखाएको छ।

अक्सफामको प्रतिवेदनमा विश्वका शीर्ष एक प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएकोभन्दा दोब्बर सम्पत्ति रहेको पनि उल्लेख छ । प्रतिवेदनले यस्तो विकराल आर्थिक असमानताका लागि लैँगिक विभेद जिम्मेवार रहेको उल्लेख गरेको छ । प्रतिवेदनले भनेको छ, ‘आर्थिक असमानता लैंगिक विभेदको जगमा ठडिएको छ।’

विश्वका १५ वर्ष र त्यसभन्दा माथिका महिलाले गर्ने बेतलबी हेरचाहको कामलाई मौद्रिक मूल्यमा रूपान्तरण गर्दा १०८ खर्ब अमेरिकी डलरभन्दा बढी हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ।

‘महिलाले सस्तो र निःशुल्क श्रमद्वारा बजार अर्थतन्त्रलाई सहयोग गर्नुका साथै उनीहरूले सार्वजनिक क्षेत्रले उपलब्ध गराउनुपर्ने हेरचाह उपलब्ध गराएर राज्यलाई पनि सहयोग गरिरहेका छन्,’ प्रतिवेदनमा उल्लेख छ।

‘यो बेतलबी कामले पनि लिंगवादी आर्थिक प्रणालीलाई नै मलजल गरिरहेको छ । यस प्रणालीले धेरैजनाबाट खोसेर थोरैको खल्तीमा सम्पत्ति राखिदिने गरेको छ।’

त्यसैगरी, गएको एक दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको प्रतिवेदनले जनाएको छ । धनी र गरिबबीचको असमानताको बढ्दो खाडल पुर्न विश्वका नेताहरूले पर्याप्त काम नगरेको जिकिर प्रतिवेदनमा छ।

अक्सफामले बढ्दो वृद्ध जनसंख्या एवं सार्वजनिक सेवाको कटौतीले हेरचाहको काममा थप भार थप्दै जाने र असमानता थप बढाउने चेतावनी पनि दिएको छ।

‘यस असमानताको दुश्चक्रलाई कम गर्न विश्वभरका सरकारले निःशुल्क वा न्यूनतम पैसामा बालबच्चा एवं वृद्धवृद्धाको हेरचाह गर्ने महिलाको बोझ कम गर्ने नीतिहरू लागू गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी, अक्सफामले धनीलाई बढी कर लगाउन, बालबालिका एवं स्वास्थ्य हेरचाहमा सरकारी खर्च बढाउन पनि सुझाएको छ।

विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad