छापा खबर


किन हुन्छ सामूहिक आत्महत्या? यसाे भन्छन् विज्ञ

किन हुन्छ सामूहिक आत्महत्या? यसाे भन्छन् विज्ञ

नेपालखबर
माघ ४, २०७६ शनिबार २:१०,

बिहीबार दिउँसो २ बजेतिर चन्द्रागिरी नगरपालिका–४, थानकोटका विनय लामिछाने धादिङ आदमघाट बजारस्थित ससुराली हिँडे। ३५ वर्षीय विनयका साथमा थिए, पत्नी जमुना रेग्मी लामिछाने, दुई वर्षे र ६ महिने छोरा। कान्छो छोराको आज पास्‍नी थियो।

विनय ससुराली कटेर बेनीघाट पुगेरमात्र ओर्लिए। र, सबै एकसाथ त्रिशुली नदीमा हेलिए। विनयको त प्रहरीले उद्धार गर्‍यो तर पत्नीको ज्यान गयो, दुवै सन्तान बेपत्ता छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मिटर ब्याजको ऋण तिर्न नसकेपछि उनीहरुले आत्महत्याको बाटो रोजेको देखिएको छ। थानकोटस्थित घरमा प्रहरीले फेला पारेको ‘सुसाइड नोट’ मा धेरैलाई पैसा तिर्न बाँकी उल्लेख छ। यसबाट लामिछाने दम्पत्तिले घरबाट निस्कदै आत्महत्याको योजना बनाएको देखाउँछ।

सामूहिक आत्महत्याको यो पहिलो घटना भने होइन।

गत वर्ष चितवनको भरतपुर महानगरपालिका-१८, शशीनगरमा एकै परिवारका तीनजनाले आत्महत्या गरेका थिए। सहरी क्लिनिक टोलकी ३५ वर्षीया आमा माया आलेमगर, १४ वर्षीया छोरी विनिता र १२ वर्षका छोरा विवेकले सलमा झुन्डिएर मृत्युवरण गेका थिए।

छोराले सुनाइड नोटमा लेखेका थिए, ‘बुबा, तपाईं हामीलाई नसोधी किन जानु भयोरु ममीले साह्रै दुःख मान्नु भएको छ।’ नेपाली सेनामा कार्यरत उनका बाबु घटनाको दुई दिन अगाडि काठमाडौं फर्किएका थिए।

बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरे, अघिल्लो वर्ष। सुर्मा गाविस–५ का १४ वर्षे जुनतारा पुजारा, १४ वर्षकै रेखा पुजारा र उनीहरुभन्दा एक वर्ष जेठी कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर मृत्यु रोजेका थिए।

नेपालमा वर्षेनी आत्महत्या बढ्दो छ। सन् १९९० को दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ।

एक्लै आत्महत्याको निर्णयमा पुग्न तुलनात्मक रुपमा सहज होला तर सामूहिक आत्महत्याको निर्णयसम्म कसरी पुग्लानरु त्यसमा पनि प्रायः बाबुआमाले सन्तानलाई आत्महत्याका लागि प्रोत्साहन गरेको देखिन्छ। धादिङ घटनामा पनि आमाबाबुको संयुक्त निर्णयमा बच्चा लिएर त्रिशूलीमा हेलिएको देखिन्छ।

सामूहिक आत्महत्याको यो डरलाग्दो प्रवृत्तिभित्रको कारण के होला? यसबारे गोकर्ण गौतमले विज्ञहरूसँग लिएको प्रतिक्रिया आजको कान्तिपुरमा छापिएको छ-

‘आत्महत्यालाई सहज ठानियो’
मीना उप्रेती, समाजशास्त्री
हरेक आत्महत्या पछाडि भिन्न कारण हुनसक्छ। तर, साझा समस्या भनेको सहनशीलताको अभाव नै हो। साना सन्तानलाई मार्ने वा मर्न प्रेरित गर्ने घटना अझ विष्मयकारी हुन्छन्। अहिलेको पुस्तामा सहने शक्ति कम छ, अप्ठ्यारो स्थिति सामान गर्न सक्दैनन्। दुख परेपछि भागिहाल्छन्। यो भनेको हाम्रो हुर्काइ पद्धतिमै समस्या छ। सुखबारे बुझाइन्छ तर संकटसँग लड्ने मनोबल विकास गरिन्न।

धादिङकै घटना हेर्ने हो भने दुवै कमाउन सक्ने थिए, ऋण पनि पार लगाउने सक्थे तर उनीहरुले सल्लाहमै आत्महत्याको बाटो रोजेको देखियो। अधिक महत्वाकांक्षा राख्ने तर सोहीअनुरुप सफलता हात नपर्दा मान्छे विचलित हुन्छन्। संघर्ष होइन, मरणको बाटो रोज्छन्। एकदमै डरलाग्दो पक्ष त के भने आत्महत्या सामान्य लाग्न थालेको छ। थोरै तलमाथि केही भयो कि ‘मर्छु’ भनेर धम्काइहाल्छन्।

सामूहिक आत्महत्याको एउटा कारण आक्रोश पनि हो। सुरुमै दुवै मर्नेमा सहमत हुँदैनन्। समस्या आउनुमा एकअर्कालाई दोष लगाउँछन्। कुनै तार्किक निचोडमा नपुगेपछि एउटाले मर्छु भनेर तर्साउँछ, अर्कोले लौ म पनि मरिदिन्छु भन्छ। आफू त मरे मरे, बच्चालाई चाहिँ किन सँगै मार्छन्रु भन्ने लाग्न सक्छ। उनीहरुमा बच्चालाई पनि आफूसँगै आत्महत्या गराउनुपर्छ, त्यसो गर्दा न्याय हुन्छ, नत्र पाप लाग्छ भन्ने मानसिकता विकास हुन्छ। बच्चाको मायाकै कारणले आफूसँगै आत्महत्या गराउँछन्।

हिजोको समय यति क्रुर र कठोर थिएन। मान्छेहरुमा धैर्य हुन्थ्यो। आज झगडा पर्‍यो, समस्या आइलाग्यो भने भोलि मिलिहाल्छ भन्ने आशा र भरोसा हुन्थ्यो तर आज मान्छेहरुलाई न आफूलाई अरुको साथ पाउँछु भन्ने विश्वास छ, न अरुलाई सहयोग गर्छु भन्ने प्रतिबद्धता नै। सबै कुरा भनेकै बेला चाहिएको छ, जब पाउदैन, सहज बाटो अर्थात आत्महत्यातिर लागिहाल्छन्।

यसमा हाम्रो शैक्षिक प्रणालीको कमजोरी भुल्न मिल्दैन। भावनात्मक रुपमा बलियो बनाउने ज्ञान बाँड्न सकेका छैनौं। यसले निराशातिर धकेल्छ। यो भनेको विचलन र निराशा बढाउनु हो। माहोल पनि नकारात्मक छ। सम्पत्ति हुँदा पनि निराशा, नहुँदा पनि। सन्तान भए पनि सुख्ख छैन, नभए पनि। यस्तो निराशाको ट्रेन्डको कारण एकलौटी हुन्न, समाजका अनेक तत्वको भूमिका हुन्छ।

हरेकले आफ्नो हैसियतअनुसार अगाडि बढ्ने हो भने निराशाको बिजारोपण हुन्न। परिवार र समाजले त्यस्तो माहोल निर्माण गरिदिनुपर्छ। जीवनप्रति प्रेम जगाउनु पर्छ। जीवनशैली महंगो छ, त्यहीअनुसार पैसा आर्जन हुन्न। शिक्षा पनि उत्पादनमूखी छैन। यो बेमेलले निराशा जन्माउने हो। एक्लोपना र भौतिकवादी सोचले पनि आत्महत्यामा प्रेरित गर्छ।

‘सामाजिक हिनताबोधको डर’
नन्दिता शर्मा, मनोविद्
पति-पत्नी दुवैले एकसाथ आत्महत्या गरेका छन् भने त्यहाँ मानसिक रोग हुनसक्ने सम्भावना असाध्यै न्यून हुन्छ। किनभने, एकजनालाई समस्या भए पनि अर्कोले नीराकरण गर्छ र आत्महत्याबाट जोगाउँछ। तर आमा वा बाबुमध्ये एकले बच्चालाई आफूसँगै आत्महत्या गरे भनेचाहिँ मानसिक कारण हुनसक्छ। भर्खरै जन्मिएको बच्चा र आफूसँगै आत्महत्या गर्नेलाई हामी ‘पोस्टपार्टम डिप्रेसन’ भन्छौं। धादिङ घटना यसमा पर्दैन। त्यहाँ सामाजिक हिनताबोधको भय देखिन्छ।

प्रायः सामूहिक आत्महत्यामा सामाजिक संरचनाकै दोष हुन्छ। व्यक्तिले कुनै काम गर्न खोज्छ, त्यसमा असफलता पाउँछ, जब त्यसबाट आफू र आफ्नो मान्छेलाई समाजले तिरस्कार गर्छ भन्ने सोच पैदा हुन्छ। उसले सबैलाई एकसाथ आत्महत्या गर्न प्रेरित गर्छ। जीवनप्रति नैराश्य जगाउँछ। सबै मान्छेले सबै अवस्थामा आफूलाई सही ढंगले समायोजन गर्न नसक्दा आत्महत्या विकल्प बनेर आउँछ।

यसलाई नीराकरण गर्न बच्चा हुर्काइको पद्धतिमै धैर्य, प्रेम, सहनशीलता, संघर्ष र समस्यासँग जुध्ने आत्मविश्वास बढाउनेखालको बनाउनु पर्छ। समाज र आफन्तको न्यानोपन आभाष हुने हो भने पनि मानिस आत्महत्याबाट उम्कन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad