छापा खबर


मलेसियामा ६ सय नेपालीको रोजगारी गुम्यो, फर्काइँदै स्वदेश

मलेसियामा ६ सय नेपालीको रोजगारी गुम्यो, फर्काइँदै स्वदेश

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १:३८,

मलेसियाको पञ्जा (ग्लोभ) उत्पादन कम्पनी डब्लूआरपी एसिया प्यासेफिक एसडीएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झण्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी)ले सेप्टेम्बर ३० मा डब्लूआरपी कम्पनीले कामदारलाई जबर्जस्ती काममा लगाएको तथा श्रम शोषण गरेको दाबी गर्दै उसका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो।

अमेरिकी निर्णपछि आर्थिक संकट उत्पन्न भएसँगै जनवरी १ देखि कम्पनीले पञ्जा उत्पादन गर्न बन्द गरिसकेको छ। कम्पनीले गत वर्ष ७९.५ मिलियन डलर बराबरको पञ्जा निर्यात गरेको थियो। मलेसियन रबर ग्लोब उत्पादन संघका अनुसार मलेसियाबाट मात्रै ६५ प्रतिशत ग्लोब अमेरिकामा निर्यात हुने गर्छ।

उत्पादन बन्द भएसँगै कम्पनीले विभिन्न समूह बनाई कामदारलाई आ-आफ्ना देश फर्काउन सुरु गरेको जनाइएको छ। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले तीन वर्ष करार पुगेका नेपालीलाई फर्काउन थालेको जनाए। ‘यो कम्पनीमा १० देखि काम गरिरहेका नेपाली छन्। कम्पनी बन्द हुने अवस्थामा पुगेपछि तीन वर्ष करार समाप्त भएकालाई फर्काउन थालिएको छ,’ पाण्डेले भने। पछिल्लो समूहमा ४३ जना नेपालीलाई फिर्ता पठाउने सूचना कम्पनीले जारी गरेको छ।

पाण्डेका अनुसार नेपाली कामदारले पाउने सेवासुविधा दिएरमात्रै स्वदेश फिर्ता पठाउन कम्पनी व्यवस्थापनलाई अनुरोध गरिएको छ। ‘कामदार र कम्पनी व्यवस्थापनसँग हाम्रो नियमित सम्पर्क भइरहेको छ,’ उनले भने,‘कम्पनी बन्द हुँदा ठूलो संख्यामा नेपाली कामदार प्रभावित भएका छन्।’नियमित तलब नपाएपछि पछिल्लो एक महिनादेखि कामदार र व्यवस्थापनबीच श्रम विवादसमेत चर्केको छ। श्रमिकहरू हड्तालमा समेत उत्रिएका छन्।

मलेसियाको श्रम विभागले कामदारले पाउनुपर्ने तलब भुक्तानी दिलाउने प्रक्रिया सुरु भइसकेको जनाएको छ। ‘हामीले कम्पनीमै गएर कामदारलाई तलब भुक्तानी दिलाउन आग्रह गरिरहेका छौं,’ श्रम विभागका महानिर्देशक मोहोम्मद जिफरेई बिन जोयकिमले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्, ‘कम्पनीले कामदारलाई तलब तथा अतिरिक्त समय काम गरेको भत्ता भुक्तानी गर्न बाँकी छ। कम्पनीलाई लिक्विडेसनमा लगिसकेपछि कामदारको तलब भुक्तानीको ग्यारेन्टी गरेका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad