छापा खबर


केन्याका बारमा नेपाली चेलीको यस्तो चित्कार

केन्याका बारमा नेपाली चेलीको यस्तो चित्कार

नेपालखबर
असार १३, २०७६ शुक्रबार १:२५,

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे- ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्।

यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन। सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ। सरकारको नजर पुगोस्।’

उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन्। त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो। त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्।’

समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी रात्रि–क्लबमा नाचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका नेपाली हुन्। त्यसको दायाँतिर हिरासतमा राखिएका एक विदेशी छन्, जो त्यस क्लबका सञ्चालक हुन्।

केन्याको न्यालीस्थित न्यु रंगीला बारमा राति नाचिरहेका अवस्था प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई पक्राउ गरेको हो। त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाएको छ।

थापाका अनुसार एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय छ। ‘पाँच–छ वटा क्लबमा कम्तीमा सय नेपाली युवतीलाई यो पेसामा सामेल गराइएको अनुमान छ’, वर्षौंदेखि अफ्रिकामा बस्दै आएका उनले भने, ‘तिनीहरू ललाईफकाई ल्याइएका हुन्।’

पक्राउ परेका युवतीहरूले बताएअनुसार उनीहरू काठमाडौं ठमेलका बारमा नाच्थे नेसनको समाचारमा ४ युवतीका मार्मिक पीडा समेटिएको छ। तीमध्ये एक युवती ७ सन्तानमध्ये जेठी हुन्।

लगातार जन्मिइरहेका भाइ–बहिनीलाई हेर्नुपर्ने बाध्यताले उनले ७ वर्षमै स्कुल छाडिन्। उमेर छिप्पिने र जिम्मेवारीले थिच्ने क्रममा नाचमा लागिन्।

काठमाडौं पुगेर बारमा नाच्दै केही कमाइरहेकी उनले अचानक एक एजेन्ट भेटिन्। विशाल नामको उक्त एजेन्टले भन्यो, ‘केन्या गयो भने धेरै कमाइ हुन्छ। फिल्ममा खेल्ने कलाकारको काम पाइन्छ। के गछ्र्याै?’ विदेश सपना उनको पनि थियो। त्यसमाथि कलाकार बन्ने अवसर! प्रलोभनमा परिन्। केही दिनमै उनको पासपोर्ट आयो। टिकट आइपुग्यो।

गत वर्ष नोभेम्बर १२ मा केन्या पुगेकी उनलाई असिफले एयरपोर्टबाट लगे। एउटा अपार्टमेन्टमा राखे। र, नाच्ने काममा भर्ना गरे। पासपोर्ट खोसिएकी उनी यसरी फसिन्।

न्यू रंगीला अत्यन्त महँगो डान्स क्लब हो। यहाँ सम्भ्रान्त र चिरपरिचित व्यक्ति मात्र छिर्न पाउँथे। बाहिर कुनै संकेत नभएको उक्त इलाकामा नचिनेको व्यक्ति जानै पाउँदैन थियो। त्यहाँ कार्यरत युवतीहरूलाई ग्राहकमार्फत् यौन दुव्र्यहारसमेत गरेको पाइएको पत्रिकाले लेखेको छ भन्दै  आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।

‘उनीहरू टुरिस्ट भिसामा ल्याइन्छन् र बन्दक बनाएर राखिन्छन्’, यस्ता घटना देख्दै र त्यसविरुद्ध ध्यानाकर्षण गराउँदै आएका थापा भन्छन्, ‘प्रहरीले कहिले काहीं छापा मार्छ। पैसाले कुरा मिलिहाल्छ। यदाकदा मात्र उठाएर लैजाने हो।’

त्यहाँका बारमा हिन्दी गीतमा नेपाली यवतीले नाच्ने गर्छन्। अति कम पारि श्रमिक दिँदा हुने भएकाले नेपालीको मानव तस्करी बढेको हो।

अर्की युवतीले त्यहाँको प्रहरीलाई बताएअनुसार उनीहरूलाई मासिक ‘टार्गेट’ दिइएको हुन्छ। त्यसको १० प्रतिशत पनि पारि श्रमिक दिइँदैन। ‘हामीलाई बसेको अपार्टमेन्टबाट क्लब लगिन्छ, क्लबबाट अपार्टमेन्ट’, उनले भनेकी छन्, ‘कतै निस्कन दिइँदैन। महिनामा एक दिन बिदा दिइन्छ। तर, कर्मचारीले छाड्दैनन्। अपराह्न ३ देखि ६ बजेबाहेक अरू समयमा फोन चलाउन पाइँदैन।’

तेस्री युवती पनि पारिवारिक बाध्यताले सानैमा स्कुल छाडेकी हुन्। उनलाई एजेन्टले असिफसँग सिधै कुरा गराएर पठाएको थियो। ‘मैले एक महिनाको तलब पहिल्यै चाहिन्छ भनें’, उक्त पत्रिकाका प्रतिनिधिसँग उनले भनेकी छन्, ‘टिकट र पैसा पठाइदिए। घरको ऋण तिरेर यता आएँ। यो नर्कमा फसें।’

अर्की महिलाले स्कुल छाड्नासाथ बिहे गरिन्। श्रीमान् सहितको सल्लाहमा पैसा कमाउन विदेश उडिन्। मानव तस्करीको जालोमा परेर केन्या पुगिन्। र, डान्स बारमा काम गर्न बाध्य भइन्।

थापा भन्छन्, ‘नेपाल सरकारले नेपाली चेलीको चित्कार सुनेर ठोस कदम चाल्नैपर्छ। नत्र फकाएर ल्याई नारकीय जीवन जिउन बाध्य पार्ने क्रम बढिरहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad