छापा खबर


बढ्यो सिरिन्ज आक्रमणः डेढ महिनामा ९ महिला घाइते

बढ्यो सिरिन्ज आक्रमणः डेढ महिनामा ९ महिला घाइते

नेपालखबर
असार १३, २०७६ शुक्रबार १:१४,

काभ्रेको बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन्।

यस्तो आक्रमण जेठयताको हो। अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरूको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ। उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद व्यक्ति देखेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गरी आमा समूह, टोल सुधार समिति, उपभोक्ता समिति, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थालाई यस्ता ब्यक्तिकोे पहिचानका लागि सादा पोशाकका प्रहरीसमेत चोक–चोकमा परिचालन गरेकाले सहयोग गर्न आग्रह गरेको छ।

दिदीको घरबाट आफ्नो घर फर्कदै गरेको अवस्थामा बनेपाको करुणा मार्गस्थित सडकमा अधवैंसे महिला हातमा ठोक्किएर फटाफट अघि बढेकी थिइन्। त्यही बेला उनलाई चसक्क भएकाले चिच्याएकी थिइन्। तत्काल घरमा आएर हेर्दासमेत केही नलागेकाले उनी खाना खाएर सुतिन् ।

राति हात दुखेकाले सुत्न नसकेकी महिला भोलिपल्ट उपचारार्थ मेडिकल पुगेपछि मात्रै आफूलाई सिरिञ्ज आक्रमण भएको जानकारी पाएकी थिइन्। यो खबर आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले काभ्रेबाट लेखेका हुन्।

तत्कालै काठमाडौंस्थित टेकु अस्पताल पुगेकी उनलाई विभिन्न परीक्षण गरी औषधि सुरु गरिएको छ।

डाक्टरको समूहले पीडित महिलालाई १५ दिनपछि पुनः रगत जाँच गर्न बोलाएको छ । पीडितले भन्नुभयो–‘औषधि सेवनले पखाला, उल्टी, खान मन नलाग्ने र ज्वरोसमेत आउने भइरहेको छ ।’

गएको डेढ महिनामा यस्तै प्रकृतिका नौ घटना भइसकेको तर यसबाट कुनै संक्रमण भए–नभएको खुलेको छैन। शुक्रराज ट्रपिकल सेन्टरमा उपचारका लागि आएका महिलाको संख्या मात्र नौ हो, अन्यत्र पनि यस्ता घटना भएका हुनसक्छन्। सबै पीडितहरु महिला नै छन्।

टेकुस्थित ट्रपिकल सेन्टरका डा। शेरबहादुर पुनले यो घटना देखेर सबै डाक्टर हैरान भएको बताए। यस अघिका घटनाभन्दा बनेपाको घटना डरलाग्दो भएको उहाँको टिप्पणी थियो। डा. पुनका अनुसार अरूभन्दा यो घटना सिरिन्ज एट्याक भनेर दाबी गर्न सकिने खालको छ।

पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो। यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका डा। पुनले बताए।

केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाह त्रसित छन्। उनीहरुलाई एचआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ।

सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिञ्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ। तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने जनाएको छ।

डा पुनले पनि आक्रमण रोग सार्ने नियत हो या आतंक फैलाउने नियतले हो थाहा भइनसकेको बताए। उनका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए–नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad