छापा खबर


विप्लव समूहले भन्यो- नेता कार्यकर्ताको रिहाइपछि मात्र वार्ता

विप्लव समूहले भन्यो- नेता कार्यकर्ताको रिहाइपछि मात्र वार्ता

नेपालखबर
असार १३, २०७६ शुक्रबार ०:५५,

पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्याकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ।

पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन्।

‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले भने, ‘अब सम्भावना टर्‍यो, यता वार्तामा आउन भन्ने, उत्ता हाम्रा साथीहरूको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ।

‘विप्लवजी वार्तामा आउनुहोस् भनेर दाहालले सार्वजनिक रूपमै भन्न थालेका छन्,’ ती नेताले भने, ‘प्रधानमन्त्री तथा सरकार पक्षबाट पनि विभिन्न सूत्रबाट वार्ताका लागि पहल नभएको होइन तर वातावरण बनाए जस्तो गर्ने अनि कार्यकर्तालाई मार्ने?’

सरकारले चन्द समूहसँग वार्ताको ढोका सधैं खुला राखेको गृहमन्त्री रामबहादुर थापाका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले बताए।

‘मन्त्रिपरिषद् बैठकले नै वार्ताका लागि विशेष कमिटी नै बनाएको थियो,’ उनले भने, ‘वार्तामा आउँछु भनेर कार्यकर्ता छुटाउन लगाए तर आएनन्, धोका दिए ।’ त्यसपछि मात्र सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको उनले दाबी गरे । ‘वार्तामा ल्याउने काम अहिले पनि भइरहेको छ,’ उनले भने।

सरकार र सिंगो पार्टी वार्ताकै पक्षमा रहेको उनले बताए तर यसअघि वार्ताका लागि विशेष कमिटी बनाए पनि सरकारले लिखित रूपमा पत्र नपठाएको चन्द समूहको आरोप छ । राजनीतिमा पत्राचार भन्ने कुरा प्राविधिक मात्र भएको सुवेदीको भनाइ छ । ‘वार्तामा आउनुपर्छ भनेर सरकारले भनिसकेको छ,’ उनले भने।

सरकार पक्षबाट प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र सांसद सोमनाथ पाण्डेले चन्द समूहका लुम्बिनी इन्चार्ज वीरेन्द्रजंग चन्दमार्फत चन्दलाई वार्तामा ल्याउन पहल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad