ad ad

छापा खबर


चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

नेपालखबर
पुस २९, २०७६ मंगलबार ४:२५,

नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ।

गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई ३ महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो।

अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ। अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ।

अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो। प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन। तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ। नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ। टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

२०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्रअनुसार अन्तरआबद्धता शुल्क फरक-फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देशभरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ।

निर्देशिकाअनुसार एउटा सेवा प्रदायकको फिक्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ। अहिले नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन। फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तरआबद्धता शुल्क १० पैसा हुनेछ। यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तरआबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ।

मोबाइलबाट मोबाइलमा गर्दा पनि अन्तरआबद्धता शुल्क १० पैसा कायम गरिएको छ। एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तरआबद्धता शुल्क तोकिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कमा मात्र फोन लाग्ने र अन्य सेवा प्रदायकमा फोन नलाग्ने गरेको गुनासोलाई पनि निर्देशिकाले सम्बोधन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .