महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ।
प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ।
त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन्।
कतिपय त भत्काइएकाछाउगोठ बनाउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा अछामबाट शान्ति तामाङ, तेजराज भट्ट र धु्रब बिसीले लेखेका छन्।
आइतबार अछामको तुर्माखाँद गाउँपालिका ५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन्।
शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने डरले घरभित्र पसिनन्। भत्काइएको छाउगोठमा रात बिताइन्।
मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ।
‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी देउताको’, कलावतीले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमा बस्थ्यौँ, अहिले कसरी भित्र छिर्नु।’
खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् । श्रीमान् रोजगारका क्रममा भारतमा छन् । चाडबाडका वेला मात्रै फर्किन्छन्।
निरक्षर कला महिनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन् । छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला कि भन्ने डर पनि उनमा देखिन्छ।
धाङ्टाकै हरिकला जोशी महिनावारी भएको दुई दिनदेखि भैँसीगोठमा बसिरहेकी छन् । माटो र ढुंगाले बनेको उनको दुईतले घरको भुँइतलामा गाईभैँसी बाँध्ने गोठ छ ।
घरको आँगनमुनि रहेको छाउगोठ प्रहरी र गाउँपालिकाको टोलीले भत्काइदियो । यहीबीच उनी महिनावारी भइन् । तत्काल छाउगोठ बनाउन सक्ने अवस्था नभएपछि भैँसीगोठमै बस्न थालेको उनले बताइन्।
‘अहिले बनाउन सकिएन, अर्कोपल्ट महिनावारी हुँदा छाउगोठमै बस्छु,’ ४९ वर्षीया हरिकलाले भनिन् । महिनावारी भएको वेला घरभित्र बस्दा परिवारका सदस्य बिरामी हुने, गाईभैँसी मर्ने, घरभित्रै सर्पहरू देखिनेजस्ता विपत्ति आउने हरिकलाको बुझाइ छ।
जनप्रतिनिधि र प्रहरी आउँदा छाउगोठ छाडेर भागाभाग गर्ने महिला राति भने भत्केकै गोठमा बस्छन्, भौतिक गोठ भत्किएका छन्, तर मानसिक गोठ भत्काउन चेतना अभियान आवश्यक छ।
प्रतिक्रिया