छापा खबर


ठूल्ठूला बिस्फोटसहित रातभर बंकरमा मिसाइल खसिरह्यो : प्रत्यक्षदर्शी नेपालीको बयान

ठूल्ठूला बिस्फोटसहित रातभर बंकरमा मिसाइल खसिरह्यो : प्रत्यक्षदर्शी नेपालीको बयान

नेपालखबर
पुस २४, २०७६ बिहिबार १:४३,

इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो।

सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे। आपत्कालीन घण्टी बजेपछि उनीहरूलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो।

बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ः ४५ मा सही निस्क्यो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो।

२ः४५ मा बल्ल रोकियो । ‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरू भने निकै डराए ।’

यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका थिए । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए ।

‘त्यतिखेर दैनिक १० वटा मोटर क्याम्पमा झर्थ्यो । बम आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झर्‍यो याद गर्न सकिनँ।’

इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे ।

अल असाद क्याम्प बग्दादबाट झन्डै एक सय ६० किमि टाढा पर्छ ।

‘बंकर निकै सुरक्षित ढंगले बनाइएको छ । यो कडा हुन्छ । फलामे रडमा सिमेन्ट लगाइएको हुन्छ । त्यसको माथि बालुवा र माटोको बोरा राखिएको हुन्छ । यति बलियो भएपछि केही हुँदैन भनेर ढुक्क थियौं । सोचेको जस्तै भयो । हामीलाई केही भएन । साथीहरूको मनबाट डर हट्न भने निकै समय लाग्यो,’ उनले भने, ‘बिहान ७ बजेसम्म हामीलाई बंकरमा राखियो ।’

उनीहरू रातभर सुत्न सकेका थिएनन् । ‘सेनालाई सहयोग गर्नका लागि विभिन्न कम्पनीले झन्डै ५ सय जनालाई काममा लगाएको छ ।

हाम्रो समूहमा ९ जना छन् । यही क्याम्पको अन्य ठाउँमा नेपाली छन् कि छैनन् थाहा छैन,’ उनले भने, ‘मानवीय क्षतिबारे जानकारी भएन ।’ इरानी सरकारी टेलिभिजनले भने ८० जना अमेरिकी मारिएको दाबी गरेको छ । जसलाई अमेरिकाले खण्डन गरेको छ ।

बंकरबाट उनीहरूलाई क्याम्पमा लगेर राखिएको छ । क्याम्पभित्र क्षति पुगेको छैन । मिसाइल खसेको ठाउँमा जान दिइएको छैन ।

‘बेस क्याम्पलाई लक गरिएको छ । जो जहाँ छ, त्यहीं बस्ने हो । यताउति जान दिइएको छैन । काम बन्द छ,’ उनले भने, ‘हामी कम्पनीको सूचनालाई पर्खेर बसेका छौं । यहीं राख्छ कि बाहिर लगेर राख्छ यकिन भएको छैन ।’ त्यस क्याम्पमा नेपालीहरूले इन्टरनेटको सेवा दिने, कपाल काट्ने र कफी बनाइदिने काम गर्छन् ।

इरानले मिसाइल प्रहार गरेको अर्को क्षेत्र कुर्दिस्तानको अर्विल बेस क्याम्पमा हो । जहाँ पाँचवटा मिसाइल प्रहार भएको थियो । त्यो क्याम्पमा झन्डै सय नेपाली कार्यरत छन्, जसमा नेपाली महिला पनि छन् ।

क्याम्पभित्र भने सात जना मात्र बस्छन् । ‘सबै जनालाई क्याम्पभित्र राखिएको छैन, हामी सात जना मात्र भित्र बस्ने हो,’ अर्विल क्याम्पमा कार्यरत झापाकै विराट तामाङले भने, ‘अरू साथीहरू बिहान काम गर्न आउँछन्, बेलुका क्याम्पबाट बाहिर जान्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad