छापा खबर


आतंकवादको आशंकामा नेपालका आईएनजीओविरुद्ध अनुसन्धान सुरु

आतंकवादको आशंकामा नेपालका आईएनजीओविरुद्ध अनुसन्धान सुरु

नेपालखबर
पुस २०, २०७६ आइतबार ४:५७,

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सन्दिग्ध गतिविधि र राष्ट्र हितविपरीत काम गरेको आशंकामा नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)माथि सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।

आईएनजीओको आवरणमा अन्तर्राष्ट्रिय आतंकवादी, विखण्डनकारी र राष्ट्र हितविरुद्धका समूहबाट रकम भित्रिएको आशंकामा राअवि (गुप्तचर)ले अनुसन्धान थालेको हो।

पूर्वन्यायाधीश मोहनरमण भट्टराई नेतृत्वको जाँचबुझ आयोगले अलकायदा, आईएसआईएसलगायत अन्तर्राष्ट्रिय आतंकवादी समूहले धार्मिक संघसंस्था र अन्य आवरणमा लगानी भित्र्याउन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो।

नेपालमा २ सय ५० भन्दा बढी आईएनजीओ सक्रिय छन्। अनुसन्धानमा परेका आईएनजीओको नाम गोप्य राखिएको खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

धार्मिक गतिविधि, मानवअधिकार, लैंगिक समानता, शरणार्थी समस्यालगायत विषयमा केन्द्रित भएर भित्रिएका आईएनजीओ अनुसन्धानको दायरामा परेका हुन् । ‘खासगरी आईएनजीओले परिचालन गरेको खर्च र त्यसले राष्ट्र हितमा पारेको प्रतिकूल असरका विषयमा केन्द्रित रहेर अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘केहीको विवरण संकलन गरिसकेका छौं, यस विषयमा छिट्टै निष्कर्षमा पुग्छौं ।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले गैरसरकारी संस्थाका शंकास्पद गतिविधिको अनुसन्धान गर्नकै लागि उसका अचल सम्पत्ति बेचबिखनमा रोक लगाइएको बताए । ‘जाँचबुझ र अनुसन्धानले पूर्णता नपाएसम्म रोक्का निर्णय यथावत् रहन्छ,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .