छापा खबर


आधार विनै एक सातामा यसरी बढ्यो खाद्यान्नको मूल्य

आधार विनै एक सातामा यसरी बढ्यो खाद्यान्नको मूल्य

नेपालखबर
पुस २०, २०७६ आइतबार ४:७,

-अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले फलामे डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढाए ।

-ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासु ३ सय १० रुपैयाँ पुग्यो ।

-नेपाल अन्डा उत्पादक संघले पनि अन्डाको मूल्य बढाएर प्रतिक्रेट १५ रुपैयाँ पुर्‍यायो । संघले मागअनुसार आपूर्ति नभएको जनाउँदै मूल्य बढाएको छ।

मूल्य बढ्नुपर्ने कुनै कारण नभए पनि एक सातायता खाद्यान्नको मूल्य पनि बढेको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्। व्यवसायीका अनुसार खाने तेल, दाल, खुर्सानीलगायत अत्यावश्यक वस्तुको मूल्य प्रतिलिटररकिलोमा १० रुपैयाँसम्म बढेको छ ।

यी केही उदाहरण मात्रै हुन् । अन्य वस्तुको मूल्य पनि बढिरहेको छ । नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार हस्तक्षेपमा चासो दिएको छैन । मूल्य बढेको सन्दर्भमा विभागलाई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नदिएको व्यवसायीको गुनासो छ ।

‘दाल र तेलमा मूल्य बढ्नुपर्ने कारण छैन । आपूर्तिमा पनि समस्या छैन । तर उद्योग र होलसेल व्यवसायीले आफूखसी मूल्य बढाएका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘मूल्य बढेकोबारे आपूर्ति विभागलाई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नै दिनुभएन ।’

विभागका महानिर्देशक नेत्र सुवेदी छन् । सुवेदीले भने भेटघाटका लागि बन्देज नगरेको दाबी गरे । ‘सहयोग गर्ने व्यवसायी भए त धेरै सजिलो हुन्थ्यो,’ उनले भने, ‘कसैलाई पनि भेट्न रोकेका छैनौं ।’

मूल्य वृद्धि नियन्त्रणका सन्दर्भमा महानिर्देशकले नै पहल लिनुपर्ने जानकारहरू बताउँछन् । तर महनिर्देशक जिल्लाजिल्ला घुम्नमै रमाइरहेको कर्मचारीहरूको गुनासो छ ।

‘मूल्यमा कार्टेलिङ भइरहेको छ । अनुगमन र नियन्त्रण गर्न किन चासो नदिइएको हो, थाहा भएन,’ विभागका एक अधिकारीले भने, ‘अनुगमन गर्नुपर्‍यो भन्नुहुन्छ तर कुन क्षेत्रमा गर्ने स्पष्ट निर्देशन छैन ।’

ती अधिकारीका अनुसार अन्डा र कुखुरा व्यवसायीले मूल्य वृद्धि गरिरहँदा महानिर्देशक उपभोक्ता सचेतनाको नाममा बर्दिया, राजापुर, सुर्खेत, दैलेख, नेपालगन्ज, तनहुँ हुँदै स्याङ्जाका कार्यक्रममा थिए ।

गोष्ठी र सचेतनाले उपभोक्ता र व्यवसायीलाई कुनै प्रभाव नपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘व्यवसायीले आफूहरूलाई कसैले कारबाही गर्दैन भन्ने बुझिसके । विभागले पनि जरिवानालाई मात्रै उपलब्धि ठानेको छ,’ उनले भने, ‘७–८ वर्षअघि प्रभावकारी थियो । हरेक क्रियाकलापमा पारदर्शी हुन्थ्यो । अहिले अनुगमन पनि शंकाको घेरामा छ।’

सचेतना गोष्ठीका नाममा घुमेर होइन, बजार मूल्य पनि विश्लेषण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad