छापा खबर


सशस्त्रको चाकरी : मुख्यसचिव रेग्मीलाई सातामा एक ट्यांकर पानी निःशुल्क

सशस्त्रको चाकरी : मुख्यसचिव रेग्मीलाई सातामा एक ट्यांकर पानी निःशुल्क

नेपालखबर
पुस १७, २०७६ बिहिबार २३:५३,

सशस्त्र प्रहरी बलले आफ्नो ट्यांकरमार्फत् मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियमित रूपमा खानेपानी आपूर्ति गरिदिने गरेको पाइएको छ।

सशस्त्रले साताको एकपटक राजधानीको कोटेश्वरस्थित रेग्मीको घरमा एक ट्यांकर पानी आपूर्ति गरिदिने गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

रेग्मीले सरकारी निकायको ट्यांकरबाट आउने पानी र ढुवानी शुल्क केही तिर्नु पर्दैन। सशस्त्रले निःशुल्क रूपमा उनलाई अनधिकृत रूपमा यस्तो सुविधा उपलब्ध गराएको हो।

मुख्यसचिव या कुनैपनि प्रशासनिक अधिकारीले सरकारी निकायबाट निःशुल्क रूपमा खानेपानी या अरू सुविधा लिनु आफैंमा कानुन विपरीत हो। ‘कुनै पनि सरकारी अधिकारीले मातहतको या आफ्नो पहुँच भएको कार्यालयबाट अनधिकृत कुनै पनि सुविधा लिन मिल्दैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

‘रेग्मी २०७३ भदौ १९ देखि २०७४ कात्तिक ७ सम्म गृह सचिव हुँदा सशस्त्रका तत्कालीन नेतृत्वले चाकरी स्वरूप साताको एकपटक ट्यांकरबाट पानी लगिदिन थालेको हो।

रेग्मी मुख्यसचिवमा बढुवा भएपछि पनि यो चाकरी गर्दै ट्यांकरबाट पानी पुर्‍याउने सेवाको क्रम जारी छ’ सशस्त्रको एक अधिकारीले भने।

बिहीबार बिहान सशस्त्र प्रहरीका जवान र चालकले बा १ झ ३५९६ नं। को ट्यांकरबाट पाइपको सहायताले रेग्मीको घरको खानेपानी ट्यांकीमा पानी हालिरहेको भेटिएका थिए। मुख्यालय र गणहरूलाई पानी आवश्यक पर्दा ओसार्नका लागि सशस्त्रले ट्यांकर खरिद गरेको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता अजयकुमार छत्कुलीले आफ्नो संगठनको ट्यांकरले मुख्यसचिवको घरमा बिहीबार पानी पुर्‍याएको स्वीकार गरे।

‘अप्ठ्यारो पर्दा र खानेपानीको अभाव हुँदा सशस्त्रको ट्यांकरले टोलटोलमा पानी वितरण गर्ने गरेको छ। यो सामान्य कुरा हो,’ उनले भने। उनले सशस्त्रको ट्यांकरले मुख्यसचिवको घरमा पानी पुर्‍याउँदा उनका अरू टोलबासी र अन्यत्र किन नदिएको भन्नेबारेमा भने बोल्न चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad