छापा खबर


बेपत्ता तीन छोरा भेटिने आशमा अझै जोखाना हेराउँदैछिन् गुल्टी

बेपत्ता तीन छोरा भेटिने आशमा अझै जोखाना हेराउँदैछिन् गुल्टी

नेपालखबर
पुस १५, २०७६ मंगलबार २:१९,

कञ्चनपुर की ६५ वर्षीया गुल्टी धामी घरमा नौलो मान्छे आउनेबित्तिकै पुराना एल्बम निकाल्छिन् ।

एल्बमका पाना फर्काउँदै बेपत्ता छोराका तस्बिर देखाउँछिन् । अनि भन्छिन्, ‘अब त छोराहरू नदेखेरै मर्ने भएँ ।’

उनलाई थाहा छैन आफ्ना बेपत्ता छोराहरू जीवित छन् वा छैनन् । तैपनि मर्नुअघि एकपटक मात्रै भए पनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

छोराहरूलाई सम्झेर रातदिन पिरोलिन्छिन् । यो खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्टले लेखेकी छन्।

१८ वर्षअघि रोजगारीका लागि भारत पसेका गुल्टीका जेठा छोरा नम गएदेखि घर फर्केका छैनन् । कञ्चनपुरको महाकाली नगरपालिका–९, ढकनाघाट बस्ने नम गाउँलेसँगै भारत, उत्तराखण्डको अल्मोडातिर गएका थिए । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आएनन् ।

नम अल्मोडा गएको दुई वर्षपछि उनका भाइ धनबहादुर पनि रोजगारीकै लागि गाउलेसँग दिल्ली गए । उनको पनि कुनै अत्तोपत्तो छैन ।

गुल्टी अहिले दिल्लीबाट कोही गाउँले घर फर्कियो भने धनबहादुरका बारेमा सोध्छिन् । सबैबाट उनले पाउने एउटै जवाफ हो, ‘हामीले कतै देखेनौं, केही थाहा भएन ।’

गुल्टीका साइला छोरा पदम दुई दाजुभन्दा पहिले ९ वर्षको उमेरमै छिमेकीसँग दिल्ली गएका थिए । एक वर्षसम्म घरमा सम्पर्क भइरहन्थ्यो । होटलमा काम गर्थे । चिठीपत्र पठाइराख्थे । एक वर्षपछि उनी त्यो काम छाडेर अन्तै गए । त्यसपछि न त घरमा चिठी पठाए न उनीसँगै गएका गाउँलेले कतै देखे ।

‘२२ वर्ष भयो पदम हराएको,’ गुल्टीले भनिन्, ‘त्यसपछि जेठो र माइलो पनि इन्डिया गए, उतै हराए केही खबर छैन ।’

गुल्टीका पाँच छोरामध्ये कान्छा राम मलेसियामा छन् । अर्का छोरा कर भारतकै केरलामा छन् । गुल्टीले आफ्ना बेपत्ता छोराहरू फर्किने आस मारेकी छैनन् । ‘मर्नुअघि छोराहरू भेट्छु भन्ने मेरो मनले भन्छ,’ उनले भनिन्, ‘बूढा यही आसमा बिते, अब मेरो पनि भर छैन ।’

तीन छोरा बेपत्ता भएको धामी परिवारले कतै उजुरी वा निवेदन दिएन । भारतमा हराएका छोरालाई नेपालका प्रहरीले खोजिदेलान् भन्ने उनीहरूलाई लागेन । त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषीकहाँ हेराउने काम मात्रै गरे । अहिले पनि गुल्टी जोखाना हेराउन विभिन्न ठाउँ दौडिराख्छिन् ।

कञ्चनपुरकै वेदकोट नगरपालिका–१, पिपलथलाकी ७० वर्षीया कौशिला चन्दलाई गाउँमा नौलो व्यक्ति आउँदा २२ वर्षअघि बेपत्ता भएको आफ्नै छोरा आएजस्तो लाग्छ ।

आँखा देख्ने बेलासम्म उनी हेरिराख्छिन् । उनका माइला छोरा धर्म चन्द २२ वर्षअघि ८ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा गाउँलेसँग भागेर भारततर्फ गएका थिए तर उनी फर्केनन् ।

एकपटक गाउँलेले भारतकै मुम्बइमा देखेको खबर घरमा पुर्‍याए । धर्मका बुवा चन्द्रबहादुर हतारहतार गाउँलेसँगै मुम्बई पुगे तर छोराको अत्तोपत्तो लागेन ।

‘बाबु बितेको १८ वर्ष पुग्यो, छोराको कुनै पत्तो लागेन,’ कौशिलाले भनिन्, ‘अब फर्किने आस छैन ।’ उनका अनुसार धर्म घरबाट स्कुलबाहेक कतै जाँदैनथे ।

गाउँले भारत जाने भएपछि उनी एक साताअघि नै घर छाडेर महेन्द्रनगर बजारमा बसेका थिए । धर्म पनि उनीहरूसँगै भारततर्फ गएको खबर ढिला गरी पाएको कौशिलाले बताइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad