छापा खबर


रोल्पामा जबरजस्ती विकास

रोल्पामा जबरजस्ती विकास

नेपालखबर
पुस १४, २०७६ सोमबार ३:१५,

रोल्पामा विकासका नाममा ग्रामीण क्षेत्रमा जबरजस्ती खनिएका सडक मापदण्डविपरीत छन्।

प्राविधिकको सामान्य लाइनका भरमा खनिएका ग्रामीण सडक वातावरणीय र प्राविधिक दुवै हिसाबले उपयुक्त नरहेका खबर आजको नागरिक दैनिकमा रोल्पाबाट दिनेश सुवेदीले लेखेका छन्।

यस्ता सडकले पार्ने दीर्घकालीन असरबारे सबै निकाय मौन छन्।

‘साना योजना हुन्छन्, डिपिआर गर्न सम्भव हुँदैन। सामान्य इस्टिमेट गरिन्छ अनि लाइन दिने काम हुन्छ। स्थानीय तहको विद्यमान जनशक्तिले विधिपूर्वक नक्सा बनाएर काम गर्न सम्भव पनि छैन,’ रोल्पा नगरपालिकाका इन्जिनियर मुकेश कुँवर भन्छन्, ‘सडकको मास्टर प्लान बनाएर काम सुरु गर्नुपर्ने हो तर त्यसो भएको छैन।’

उनका अनुसार कतिपय अवस्थामा प्राविधिकले भनेको ठाउँमा स्थानीयले सडक खन्न दिँदैनन्, अनि बाटो घुम्छ। अझै ठूलो समस्या त लाइन दिएर हामी हिँडेपछि डोजर अपरेटरले आफ्नो हिसाबले खन्न थाल्छन्।

प्राविधिकले भनेअनुसार काम नभएपछि सडकको स्तर गतिलो हुँदैन भने वातावरणीय हिसाबले पनि दिगो हुँदैन।

इन्जिनियर कुँवर भन्छन्, ‘अहिलेका अधिकांश ग्रामीण सडक प्राविधिक हिसाबले गतिला छैनन्। सडक खन्ने मात्र काम हुन्छ, नाली हँुदैन अनि सामान्य वर्षामा पनि भत्किन्छ। अर्को वर्ष त्यसलाई बनाउन फेरि उत्तिकै खर्च लाग्छ। उही सडकमा उत्ति खर्च लाग्छ।’

उनका अनुसार सडक नै विकास हो भन्ने मान्यताले हरेक क्षेत्रमा असर गरेको छ।

रोल्पा नगरपालिकाले जबरजस्ती सडक विकास गरेजस्तै जिल्लाका अन्य स्थानीय तहले पनि गरिरहेका छन्। स्थानीय तहसँग पनि सडकको नक्सा र डिपिआर हुँदैन।

सबै सडकको नक्सा काम सकिएपछि बन्छ, कतिपयको त नक्सा नै बन्दैन। स्थानीय तहले सडक खन्दा वातावरणीय क्षेत्रमा त बजेट नै छुट्याँउदैनन्। मोटरबाटो खन्नेले सडक छेउमा रुख रोप्ने वा वातावरणमा पर्ने असर न्यूनीकरणका लागि कुनै योजनासमेत बनाउँदैनन्।

वन कार्यालयका अनुसार सडक खन्दा रुख काटियो भने वन कार्यालयले छनोट गरेको ठाउँमा काटिएको एक रुखबराबर २५ रुख रोप्नुपर्छ तर रोल्पामा आजसम्म त्यसो भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad