उत्तर भारतमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण ४७ भन्दा बढीको मृत्यु भएको छ।
लद्दाख, दिल्ली, उत्तर प्रदेश, राजस्थान समेत पूरै उत्तर भारत शीत लहरको चपेटामा परेको छ। लद्दाखको कारगिलमा माइनस २० डिग्री पुगेको छ भने दिल्लीमा १.७ डिग्री पुगेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
राजस्थानमा पनि शीत लहरका कारण जनजीवन प्रभावित भएको छ। जयपुरमा पाँच वर्षपछि १ डिग्रीमा झरेको छ। देशका कैयौं भागमा घना कुहिरो लागेका कारण आवतजावतमा समस्या भएको छ।
उत्तर प्रदेशमा चिसोका कारण २८ जनाको मृत्यु भएको छ। यसैगरी बिहारमा ११ र उत्तराखण्डमा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशको बुन्देलखण्डमा चार दिनदेखि लगातार शीत लहर चलेको छ। मथुराको तापक्रम २ डिग्री पुगेको छ। अमेठी, अम्बेडकर नगर, बहराइच, श्रावस्ती र बलरामपुरमा न्यूनतम तापक्रम चार डिग्री पुगेको यहाँको मौसम विभागले जनाएको छ। उत्तराखण्डको माथिल्लो भागममा हिमपात भएको छ।
अत्यधिक चिसोका कारण दृश्यता कम भएर रेल समयभन्दा ढिलो पुग्न थालेका छन्। यसैगरी जहाजका रुट परिवर्तन गरिएको छ। दिल्ली विमानस्थलमा पनि कम दृश्यताका शनिवार कैयौं विमानको उडान दिशा बदलिएको छ। १९४ वटा रेल शनिवार समयमा पुग्न सकेका थिएनन्। ती रेलको पुग्ने समय सार्नुपरेको छ। यसैगरी ७१ वटा रेलका रुट परिवर्तन गरेको रेल मन्त्रालयले जनाएको छ।
उत्तर प्रदेश सरकारले दिएको जानकारीअनुसार लखनउमा चिसोबाट पीडित ५ सय बालबालिका दैनिक अस्पताल आउन थालेका छन्। चिसोकै कारण निमोनिया र रुघाखोकीका दैनिक ५० बालबालिका अस्पताल भर्ना हुन थालेको उत्तर प्रदेश सरकारले जनाएको छ। कैयौं अस्पतालमा एउटै शड्ढयामा दुईजना बालबालिका समेत राख्नुपरेको छ।

प्रतिक्रिया