उदाहरण १ : दुई वर्षअघि कंगोबाट फर्किएका एक नेपाली सिपाहीलाई ज्वरो आएपछि काठमाडौंको एक अस्पतालमा भर्ना गरियो । इबोलाको आशंका गरी अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा खबर गर्यो।
सरकारले तत्काल बिरामीलाई सुरक्षित वातावरण मिलाएर गोप्य रूपमा छुट्टै राख्यो । इबोला भए–नभएको पत्ता लगाउन नमुना अमेरिका पठाइयो । एक महिनासम्म बिरामी र परिवारलाई तनाव भयो । रिपोर्ट आयो– इबोला होइन।
उदाहरण २ : श्वासप्रश्वास समस्याले मृत्यु भएकाको नमुना जापान पठाइयो, एक महिनापछि आएको रिपोर्टमा बर्डफ्लु भेटियो।
०७५ चैतमा काभ्रेका २१ वर्षीय एक युवक बिरामी भए । ती युवकलाई १० चैतमा खोकी र ज्वरो आएपछि उपचारका लागि अस्पताल भर्ना गरियो । खोकी तथा श्वासप्रश्वासको समस्या भएकाले बर्डफ्लु संक्रमण भएको आशंका गरियो । उपचार गर्दागर्दै पाँच दिनपछि उनको मृत्यु भयो ।
बर्डफ्लु हो कि होइन भन्ने निश्चित गर्न नेपालमा सम्भव नभएकाले उनको नमुना परीक्षणका लागि जापान पठाइयो । एक महिनापछि रिपोर्ट आयो– उनलाई बर्डफ्लु लागेको थियो । नेपालमा मानिसमा बर्डफ्लु संक्रमण भएको यो नै पहिलो घटना थियो । त्यो संक्रमण एक महिनासम्म धेरैमा फैलिन सक्थ्यो, त्यो विषयमा यहाँ कुनै व्यवस्था थिएन ।
उदाहरण ३ : सप्तरीमा एकैपटक एउटै फार्ममा ६१ बंगुर मरे, तर नेपालमा परीक्षण हुन सकेन, नमुना विदेश पठाइएन।
सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारमा सञ्चालित एक बंगुर फार्ममा अज्ञात रोगका कारण गत २३ मंसिरमा एक साताभित्र ६१ वटा बंगुर मरे । ज्वरो आउने, थरथर काम्ने, र्याल निकाल्ने बंगुरहरू धमाधम मर्न थाले ।
बंगुरमा फैलिएको रोग पत्ता नलागेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर र राजविराजस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिराहा र सप्तरीबाट टोलीसमेत गए ।
तर, त्यति धेरै बंगुर एकैपटक किन मरेका थिए भन्ने अहिलेसम्म पत्ता लागेको छैन । किनकि, यो विषय परीक्षण गर्ने व्यवस्था नेपालमा छैन, बंगुरको नमुना विदेश पठाउन सरकारले आवश्यक ठानेन ।
यी तीन प्रतिनिधि उदाहरणले नेपालमा महामारी र संक्रामक रोगको परीक्षण सम्भव छैन भन्ने सन्देश दिन्छ, जब कि विश्व बैंक र विश्व स्वास्थ्य संगठनले यस्ता धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए ।
इबोला, निपा, प्लेग, सार्स, इन्फ्लुएन्जा, टोगाभाइरस, हेजमोराइज फिभर, क्यु फिभर, एन्थ्रक्स रिक्लिट सिनलगायतका संक्रामक रोग मात्र होइन, क्यान्सर, क्षयरोग, हर्मोन, प्रजनन, स्नायु रोगको समेत नमुना परीक्षण हुन सक्छ । तर, यो प्रयोगशाला बन्द छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
नेपालमै सुविधा नहुँदा यस्ता रोगको आशंकामा दिनमा हजारभन्दा बढी बिरामीको नमुना भारत पठाउनुपर्ने बाध्यता छ । तीन वर्षअघि प्रयोगशालाले केही नमुना परीक्षण पनि गरेको थियो । तर, त्यसपछि ठप्प छ । जब कि, बन्द रहेको ल्याबमा पनि सरकारले पैसा खर्च गरिरहेको छ ।
ल्याब बन्द भए पनि नियमित मर्मत गर्नुपरिरहेको छ । बायो सेफ्टी लेभल–३ ल्याब (बिएसएल थ्री) नामक सो ल्याब मर्मतमा वार्षिक १० देखि १२ लाख रुपैयाँ खर्च हुने गरेको छ।

प्रतिक्रिया