सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत ३० मंसिरमा ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय त्रिभुवन आर्मीविरुद्ध २-१ को हार बेहोरेपछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मार्कस फिलिपेले भने, ‘विदेशी खेलाडीलाई मैदान उतार्न नपाउँदा खेल्न गाह्रो भयो। अर्काे खेलमा राम्रो गर्छौं।’
सोही दिन दशरथ रंगशालामा भएको खेलमा गत सिजनको उपविजेता संकटा क्लबले च्यासल युथलाई २-०को नजिता सुम्पिएपछि प्रशिक्षक विजय महर्जनले पनि उही कुरा दोहोर्याए, ‘विदेशी खेलाडी नहुँदा राम्रो प्रदर्शन भएन।’
श्रम स्वीकृतिलगायत प्रक्रिया मिलिनसकेकाले सो दिनको खेल जितेको च्यासलले पनि विदेशी खेलाडीलाई मैदान ओरालेको थिएन। १० खेलाडीमा सीमित संकटालाई २-० ले हराउँदा पनि च्यासलका प्रशिक्षक बालगोपाल साहुखल खुसी भएनन्। उनले भने, ‘जापानी खेलाडीलाई मेदान उतार्न नपाउँदा सुरुबाटै नर्भर भयौं। त्यसैले सोचअनुसारको खेल्न सकेनौं।’
नेपाली लिगका विदेशी खेलाडीको महत्व बुझ्न यिनै घटना काफी छन्। हुनम पनि एक दशकअघिदेखि नेपाली फुटबलमा भाग लिन थालेका अफ्रिकी मूलका खेलाडीले अधिकांश क्लबको हारजितमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उनीहरूकै प्रदर्शनमा क्लबहरू ए डिभिजनमा टिकिरहने वा घटुवासमेत हुने गरेका छन्। त्यसैले पनि महँगा नेपाली खेलाडीमा भन्दा विदेशी खेलाडीमा क्लबहरूको ध्यान जानु स्वाभाविक भएको छ।
नेपाली खेलाडी ५ बराबर विदेशी ३ खेलाडीको प्रदर्शन हुने भएकाले पनि क्लबहरू विदेशीतिर आकर्षित भएका हुन्। यो विश्लेषणात्मक खबर आज आइतबारको नेपाल साप्ताहिकमा पवन आचार्यले लेखेका छन्।
नेपाली फुटबलमा विदेशी खेलाडीको प्रभाव अहिलेको मात्रै होइन। राणाकालीन समयमा पनि भारतबाट खेलाडी मगाएर फुबटल खेल्ने गरिएको दृष्टान्त छन्।
नेपाली फुटबलका पिता भनिने नरशमशेर राणाले भारत पढ्दाका आफ्ना सहपाठीलाई बोलाएर सिंहदरबारभित्रै फुटबल खेल्ने गरेको इतिहासमा पढ्न पाइन्छ।
त्यतिबेला भारतीय फुटबलको पावर हाउस कोलकतामा इस्ट बंगाल, मोहन बगाल आदि क्लबका खेलाडी राणा खलकको निम्तोमा फुटबल आउँथे।
त्यतिबेला नेपालमा खेलाडी अनुबन्धको प्रावधान नरहेकाले प्रतिखेलका हिसाबले पारिश्रमिक बुझ्नथे, विदेशी खेलाडीले। कोही–कोहीले राम्रो प्रदर्शन गर्दा राणा प्रधानमन्त्रीबाट थप बक्सिससमेत थाप्ने नरशमशेरले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्।
०४० को दशकमा न्युरोड टिम एनआरटीले विदेशी खेलाडी भित्र्यायो। फुटबल विशेषज्ञ सञ्जीव मिश्रका अनुसार त्यतिबेला एनआरटीबाट जर्मन खेलाडीे केही समय खेले। भारतीय खेलाडी श्याम थापाले पनि सोही समय ब्याइज युनियनबाट नेपाली लिग खेलेको उनी सुनाउँछन्। त्यतिबो अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी) आवश्यक नपर्ने हुँदा भारत र भुटानबाट धेरै खेलाडी आउँथे।
नेपाली लिगमा विदेशी खेलाडीको प्रभाव भने ०५४ मा थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग उचाल्दा देखियो। त्यतिबेला भुटानी खेलाडीद्वय जितेन राई र क्रिस्पियन क्षत्रीको प्रदर्शनमा थ्रीस्टारले पहिलोपल्टक लिगको उपाधि उचाल्यो। थ्रीस्टारले ०५५ मा पनि आफूलाई च्याम्पियन तुल्याएको थियो।
प्रतिक्रिया