हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नम्बर ४ का १ सय ५० घरधुरी उज्यालाे बनेका छन्। दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी २ करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेका हुन्।
२५ किलोवाट बिजुलीले निस्दीअ ४, स्थित झ्यालटुङ, रुक्सेभन्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए। यस्तै निस्दी गाउँपालिका, वडा नम्बर ४, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, गौरीशङ्कर मावि, मौलादेवी र मित्याल आधारभूत विद्यालयमा समेत विद्युत्को पहुँच पुगेको छ।
पहिले हावाबाट बिजुली बल्छ भन्ने विश्वास नै नभए पनि अहिले गाउँ नै झिलिमिली बन्दा दङ्ग परेको अध्यक्ष सुनारीले बताए। यहाँका बासिन्दाले विद्युत्को प्रसारण लाइनबाट गाउँमा बत्ती बाल्न भनेर दस वर्षअघि नै रकम सङ्कलन गरेको उनले सुनाए। तर अहिलेमात्र बिजुली बाल्ने सपना त्यो पनि हावाले पूरा भएको सुनारीले बताए भनेर आजको गाेरखापत्रमा रेखीराम रानाले खबर लेखेका छन्।
हावाबाट बिजुली निकाल्नका लागि निस्दी गाउँपालिकाले ४२ लाख १३ हजार रुपियाँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १ करोड ७४ लाख खर्च गरेको छ । गाउँका जनताको मागअनुसार बिजुली बत्ती बाल्न बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। सम्भव भएसम्म अन्य विभिन्न वडामा समेत हावा र सौर्य ऊर्जाबाट बिजुली बत्ती बाल्ने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया