प्रहरी प्रधान कार्यालयले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ। शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो।
झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, मकवानपुरमा सुशीलसिंह राठौर र कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ। सातै जिल्लामा करिब १० महिनापछि जिल्ला इन्चार्जको सरुवा भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
सामान्यतः एक वर्ष पुगेपछि एसपीको सरुवा हुने गर्दछ।
झापाका दिनेशराज मैनाली दंगा नियन्त्रण गण सुनसरी, धनुषाका शेखर खनाल, कञ्चनपुरका दिनेश आचार्य, सिन्धुलीका चक्रबहादुर सिंह प्रहरी प्रधान कार्यालय, मकवानपुरका मुकेश सिंह महानगरीय अपराध महाशाखा, रौतहटका भूपेन्द्र खत्री प्रहरी एकेडेमी, चितवनका दानबहादुर मल्लको अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।
यसअघि काजमा पठाइएका एसपीहरूको सम्बन्धित जिल्लामै दरबन्दी कायम गरिएको छ । जसमा स्याङ्जामा जनार्दन बिसी, काभ्रेमा रविकुमार पौडेल, सर्लाहीमा विश्वमणि पोखरेल र धादिङमा रवीन्द्र रेग्मी छन् ।
डीआइजी सरुवा विवादमा
गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवादमा परेको छ । जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको हो। सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो।
महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय छन् । प्रहरीमा जुनियरको कमान्डमा सिनियरहरू खटाइँदैन। सोही कारण सरुवामा समस्या भएको छ।
यस विषयमा बिहीबार गृह मन्त्रालयमा छलफल भएको थियो। गृह मन्त्रालयका अधिकारीहरू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीले सरुवामा त्रुटि भएको बताउँछन्। ‘को सिनियर र को जुनियर भन्ने कुरा त प्रहरी महानिरीक्षकलाई थाहा हुनुपर्ने हो,’ गृहका एक अधिकारीले भने, ‘तर सरुवामा उहाँले केही भन्नुभएन, अहिले समस्या भयो।’ स्रोतका अनुसारको आफूभन्दा जुनियरको कमान्डमा नबस्ने भन्दै डिआइजी उपाध्याय बिदामा बसेका छन्।

प्रतिक्रिया