छापा खबर


काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए, किन हराउँछन् मान्छे?

काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए, किन हराउँछन् मान्छे?

नेपालखबर
असार १०, २०७६ मंगलबार २:११,

काठमाडौँ टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन्।

सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे।

उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन।

घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो। प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।

चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन् । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए।

विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा छन् । परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान् प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन् । अहिले भागेकी दोस्री हुन् । धेरै माया गर्थें । जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन्।’

ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ।

टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला पा¥यो । उनलाई प्रहरीले समातेर ल्यायो।

किन भाग्यौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन प¥यो, परिवारले विवाह गर्न मानेन अनि भागें।’

यी तीन घटना प्रतिनिधि मात्रै हुन् । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छैन ।

घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन्।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबिबिएस) चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए।

डिएसपी बोगटीका अनुसार वैदेशिक रोजगारमा गएका पुरुष स्वदेश फर्किंदा श्रीमती अर्कै पुरुषसँग भागेका घटना पनि धेरै छन् । ‘ श्रीमान् विदेशमा बसेर काम गरी पसिना काटी पैसा पठाउँछ । यता नेपालमा बसेर श्रीमती अर्कैसँग लागेकी हुन्छिन्’, बोगटी भन्छन्, ‘ श्रीमान् घर आउँदा श्रीमती र पैसा दुवै हुँदैन । अनि श्रीमान्ले श्रीमती हराइन् भनेर उजुरी लिएर आउँछन्।’

मनोविद् गोपाल ढकाल व्यक्ति हराउनुमा थुप्रै कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘किशोराकिशोरी हराउनुमा अभिभावकसँगको तालमेल नमिल्नु, सामाजिक सञ्जालको दुरुपयोग र परिवारभित्र स्वतन्त्रता नपापाउनु हो । अर्को कुरा मानसिक रोगी परिवारलाई थाहै नदिई हराउने गरेका छन्।’

कतिपय अवस्थामा किशोरीमा यौन उत्तेजना पलाउने तर, त्यो कुण्ठा कता पोख्ने भनेर आपसी रमाइलो गर्न पनि परिवारलाई थाहै नदिई बेपत्ता हुने प्रवत्ति देखिन्छ । ‘सबै इच्छा पूरा हुँदाहुँदै पनि व्यक्ति हराउनु पारिवारभित्रको कलहका कारणले हो’, ढकालले भने, ‘आफ्नो पिरमर्का परिवारलाई सुनाएर किन दुःख दिने भन्ने सोचले पनि व्यक्ति हराएको देखिन् ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad