छापा खबर


जसलाई आफ्नो खुट्टा गुमेको थाहा छैन

जसलाई आफ्नो खुट्टा गुमेको थाहा छैन

नेपालखबर
मंसिर २३, २०७६ सोमबार २३:५३,

सोमबार दिउँसो करिब २ बजे। बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो।

कोही रिपोर्ट देखाउने पालो कुरिरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए।

अस्पतालको पहिलो तलाको कोठा नम्बर १०२ मा पनि बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा थिए।

त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी। भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निराशापन झल्किएको थियो।

उनीहरुसँगको कुराकानीका क्रममा रातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन्। अनुहारमा पीडा, हतास र संशयसहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन्। उनी रहेछिन् प्रकृतिका आमा, भगवती शाही।

आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो। अस्पतालको आइसियुमा राखिएकी उनलाई आफूले खुट्टा गुमाइसकेकी छु भन्ने समेत थाहा छैन। यो खबर आजको कान्तिपुर दैनिकमा बुनु थारुले लेखेकी छन्।

‘त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला। कक्षामा सधैँ झै अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला,’ प्रकृतिका काकाले भने।

जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन्। यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुसी खोसेको छ।

साधाझैँ आइतबार दुई चुल्ठी बाटेर निलो आकासे सर्ट र गाढा नीलो स्कर्टमा विद्यालय हिँडेकी थिइन् प्रकृति। प्रकृतिको घर विद्यालयबाट करिब डेढ किलोमिटरको दूरीमा पर्छ।

उनी कहिले लोकल बस त कहिले साइकल कुदाउँदै अनि कहिले बुवाको बाइकमा चढेर विद्यालय आउजाउ गर्थिन्।

बाँकेको कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत प्रकृतिलाई आइतबार भने बुवा नगेन्द्रबहादुरले स्कुटीमा विद्यालयसम्म छोडिदिने भए।

आफैं साइकल चलाएर जाँदा पनि उनी कहिल्यै दुर्घटनामा परेकी थिइनन्। आइतबार उनको जीवनको कालो दिन बन्न पुग्यो। जब उनी स्कुटीबाट ओर्लेर विद्यालयको गेटतर्फ बढ्न मात्र के लागेकी थिइन् ट्रकले उनको खुट्टा किच्यो।

त्यो असह्य पीडामा प्रकृति कति छटपटाइन् कति चिच्याइन् होला सायद उनलाई सम्झना छैन।

त्यो एक सेकेन्ड ट्रकको गल्तीले ती कलिली बालिकाको खुट्टा चुँडायो। त्यति मात्र गरेन, ब्याक गरेर फेरि उनलाई लतार्‍यो।

दुर्घटना हुने बित्तिकै उनलाई दशबिगाहास्थित कोहलपुर शिक्षण अस्पताल लगियो। आमा भगवती भन्छिन्, ‘अस्पताल लग्दा नानीको धेरै रगत बगिसकेको रहेछ, अक्सिजन र रगत चढाइयो। त्यसपछि थप उपचारका लागि काठमाडौं पठाइयो।’

भगवतीका अनुसार सेनाको हेलिकप्टरबाट प्रकृतिलाई हिजो साढे ५ मा काठमाडौँ ल्याइ पुर्‍याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad