ad ad

छापा खबर


उपनिर्वाचन समीक्षा : लोकप्रिय मतमा नेकपालाई पछ्याउँदै कांग्रेस, थोरै मात्र अन्तर

उपनिर्वाचन समीक्षा : लोकप्रिय मतमा नेकपालाई पछ्याउँदै कांग्रेस, थोरै मात्र अन्तर

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ४:४३,

उपनिर्वाचनमा जितेको पद संख्यामा सत्तारूढ नेकपाले कांग्रेसलाई धेरै पछाडि पारे पनि लोकप्रिय मत भने थोरै मात्र अन्तर छ।

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका रिक्त ५२ स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा र जनमोर्चाको गठबन्धनले ३१ स्थान जित्दा कांग्रेसले १३ मात्रै जितेको छ। वाम गठबन्धनले ६० र कांग्रेसले २५ प्रतिशत स्थान जितेका हुन्। लोकप्रिय मत अन्तरमा भने कांग्रेस वाम गठबन्धनभन्दा ५ प्रतिशतले मात्रै पछाडि छ। यो समीक्षा आजको कान्तिपुरमा राजेश मिश्रले गरेका हुन्।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा र जनमोर्चाको गठबन्धनले कुल सदर मतको ४७ दशमलव २० प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसका सबै उम्मेदवारले प्राप्त गरेको कुल मत प्रतिशत ४१ दशमलव १६ हो । उपनिर्वाचनमा २ लाख ९४ हजार १७ मत सदर भएको थियो ।

त्यसमा नेकपाले १ लाख २७ हजार ३८, कांग्रेसले १ लाख २१ हजार १८ र राष्ट्रिय जनमोर्चाले ११ हजार ७ सय ३९ मत ल्याएका छन् । उपनिर्वाचनको ५२ वटै स्थानमा नेकपा–जनमोर्चाले प्राप्त गरेको मत र कांग्रेसको मत अन्तर १७ हजार ७ सय ५९ छ । नेकपा र कांग्रेसबीचको मत अन्तर ६ हजार २० छ । नेकपाले ४३ दशमलव २०, कांग्रेसले ४१ दशमलव १६ र जनमोर्चाले ३ दशमलव ९९ प्रतिशत मत ल्याएका छन्।

०७४ मा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको दलगत मत अन्तर उपनिर्वाचनमा घटेको देखिन्छ । त्यतिबेला प्रत्यक्षतर्फ तत्कालीन एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ५१ दशमलव ४८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेसले प्राप्त गरेको मत ३५ दशमलव ७४ प्रतिशत थियो।

समानुपातिकतर्फ वाम गठबन्धनको कुल मत ४७ दशमलव ५४ प्रतिशत र कांग्रेसको ३२ दशमलव ७७ प्रतिशत थियो । प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तहतर्फ नगरप्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदका लागि उपनिर्वाचन भएको हो। नेकपाले यसअघि जितेका प्रदेशसभाको भक्तपुर १९१० र धरान उपमहानगरपालिकाको प्रमुख पद यसपटक गुमाएको छ। ती दुवै पद कांग्रेसले जितेको छ। यसअघि कांग्रेसले जितेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद यसपटक नेकपाले हात पारेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिटमा नेकपाले ५४ दशमलव २७ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३५ दशमलव ५८ प्रतिशत ल्याएको छ । प्रदेशसभामा कांग्रेसले ४३, नेकपाले ३६ दशमलव ५६ र जनमोर्चाले ११ दशमलव ५७ प्रतिशत मत प्राप्त गरेका छन्।

स्थानीय तहमा १ लाख ५२ हजार ४ सदर मतमध्ये नेकपाले ४४ दशमलव १८ प्रतिशत मत ल्याउँदा कांग्रेसले ४१ दशमलव ६२ प्रतिशत मत प्राप्त गरेको छ। नेकपाले ६७ हजार १ सय ५२ र कांग्रेसले प्राप्त गरेको मत संख्या ६३ हजार २ सय ५८ छ। स्थानीय तहमा दुई दलबीचको मत अन्तर ३ हजार ८ सय ९४ मात्रै छ। स्थानीय तहमा जनमोर्चाले ५ सय ४ मत ल्याएको छ।

समाजवादी पार्टीले तीनवटै तहमा उम्मेदवारी दिएकामा उसले ३ दशमलव ४६ प्रतिशत मत प्राप्त गरेको छ । स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको राजपाले ४ दशमलव ०५ प्रतिशत मत ल्याएको छ। स्थानीय तहमा समाजवादीले प्राप्त गरेको मत राजपाको भन्दा थोरै बढी ५ दशमलव ११ प्रतिशत हो । ०७४ को चुनावमा प्रत्यक्षतर्फ समाजवादीले ५ दशमलव २५ र राजपाले ४ दशमलव ५६ प्रतिशत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .