ad ad

छापा खबर


झोले ‘डाक्टर’ले लिए ५ जनाको ज्यान : योग्यताबिनै जथाभावी अप्रेसन

झोले  ‘डाक्टर’ले लिए ५ जनाको ज्यान : योग्यताबिनै जथाभावी अप्रेसन

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ४:२८,

प्रधानमन्त्री केपी ओलीले साउनमा सिंगापुर पुगेर मिर्गौलाको उपचार गराए। मिर्गौला फेरेका ओलीले अहिले पनि सुविधा सम्पन्न अस्पतालमा औषधोपचार गराइरहेका छन्।

उनी कार्यकारी पदमा रहेको मुलुकका नागरिक भने उपचारका लागि भारतीय ‘झोले डाक्टर’को भर पर्नुपरेको छ।

पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन। यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्।

यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ। अप्रेसन गर्नसमेत पछि नपर्ने यी डाक्टर झोलामा औषधि राखेर गाउँ–गाउँ डुल्ने गर्छन्।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचार क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ।

सोमबार नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मानिकराम धोबीको उपचार क्रममा मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सातायता ५ जनाको ज्यान गएको बताएका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

मटेहिया चोकमा एकाबिहानै भेला भएका मृतक गयाराजका माइलो बुबाको छोरा शिवराज धोबी, देवराज यादवलगायत ठूलो संख्यामा रहेका स्थानीयले असोज दोस्रो साता करिब ५० वर्षका बेचनलाल मौर्य र उनका ३५ वर्षका भतिज शिवकुमार मौर्यको ठाकुरले उपचार गर्ने क्रममा मृत्यु भएको बताए।

कात्तिकमा नरैनापुर–५ मोतीपुरका ६० वर्षका चित्रबहादुर रोकायले ठाकुरको उपचारकै क्रममा ज्यान गुमाए। तीन वर्षअघि एक सुत्केरीको उपचार गर्ने क्रममा ज्यान गएको थियो। उपचार गर्न आएका धेरै बच्चाको मृत्युको कुनै लेखाजोखा नभएको उनीहरूको जिकिर छ।

ठाकुरले सुरुमा आफूले उपचार गर्ने र सिकिस्त भएपछि बहराइच वा लखनउमा रिफर गर्थे। बिरामी रिफर गरेबापत पनि उनले अस्पताल र डाक्टरको क्लिनिकबाट कमिसन लिने गरेको स्थानीयले बताएका छन्।

भारतको बहराइचमा चिकित्सकको सहयोगी भएर काम गरेका ठाकुर १५ वर्षदेखि मटेहियामा अवैध औषधि पसल चलाएर बसेका थिए। उनी हाईस्कुल पनि पास नभएको बुझिएको छ। औषधि लेखेर दिने पर्चामा भने उनले आफूलाई डाक्टर लेख्थे। सोमबार दुई जनाको मृत्यु भएपछि उनी मेडिकलमा ताला लगाएर फरार छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिकास्थित नैना अस्पताल सामान्य मेडिकलजस्तो समेत छैन। तर, यहाँ अप्रेसन गरिरहेकै अवस्थामा ६ जना बिरामी भेटिए। तीन वर्षअघि अदक्षले अप्रेसन गरेपछि बिरामी थला परे। जनस्वास्थ्य कार्यालयले छापा मार्‍यो। ६ जना बिरामी बेडमा सुतिरहेका थिए। अप्रेसन थिएटर भनिएको स्थानमा न उपकरण थिए न त सरसफाइ नै।

अस्पतालमा आफूलाई डाक्टर बताउँदै अप्रेसन गर्ने डा विद्या शुक्ला र डा सुरज गिरी फरार भए। नैन अस्पताल त बन्द भयो। तर, रुपन्देहीका मर्चवार, लुम्बिनी क्षेत्रमा यस्तै अस्पतालरमेडिकलको बिगबिगी छ। सरकारी स्वास्थ्य चौकीमा औषधि नपाइने, चिकित्सक नबस्ने भएपछि रुपन्देहीको दक्षिणी क्षेत्रका नागरिक असुरक्षित सेवा लिइरहेका छन्।

दक्षिणी क्षेत्र मर्चवारका बासिन्दा कन्हैया बनियाँ प्रत्येक साता ३/४ जना बिरामीलाई आफ्नो गाडीमा राखेर सदरमुकामको अस्पतालमा पुर्‍याउँछन्। झोले डाक्टरको उपचारबाट सिकिस्तलाई उनले वर्षौंदेखि अस्पताल पुर्‍याउँदै आएका छन्।

‘झोले डाक्टरबाट जोगाउनै मुस्किल छ, अनेक बहानामा अप्रेसन गर्नसमेत मेडिकलवाला तयार छन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .