ad ad

छापा खबर


पेलेरै विभाग गठन गर्ने तयारीमा देउवा

पेलेरै विभाग गठन गर्ने तयारीमा देउवा

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ३:४६,

कांग्रेस सभापति शेरबहादुर देउवा विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन्।

कार्यकाल सकिन तीन महिनामात्र बाँकी रहँदा सभापति देउवा विभाग गठनदेखि भ्रातृसंस्था विस्तारतर्फ केन्द्रित भएका छन्।

‘चाँडै पार्टीको सबै सांगठनिक संरचनाले पूर्णता पाउँछन्’, कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘केही ढिलाई भएकै हो, सभापतिले विभाग गठनलाई प्राथमिकता दिनुभएको छ, अब चाँडै गठन हुन्छन्।’

नेताहरूबीच पटक–पटक छलफल भए पनि भागवण्डा नमिल्दा विभाग गठन हुन सकेको छैन। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतासँग विभाग र नेविसंघ गठनका लागि लामो समयदेखि सहमतिको प्रयास गरे पनि कुरा मिलेको छैन।

देउवा निकट एक नेताले भने, ‘जति छलफल गरे पनि सहमति नहुने देखिएपछि सभापति देउवा पार्टीको सबै सांगठनिक संरचनालाई पूर्णता दिने निष्कर्षमा पुग्नुभएको हो।’

ती नेताका अनुसार देउवाले एक साताभित्रै केही महत्त्वपूर्ण विभाग गठनको तयारी गरेका छन्। सभापति देउवाले विभाग गठन गर्नेबारे आफूनिकट नेतासँग परामर्शमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा खगेन्द्र भण्डारीले लेखेका छन्।

२६ मंसिरमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन्। पदाधिकारी बैठकमा विभाग गठनदेखि भ्रातृसंस्थाका बारेमा सहमतिको प्रयास गर्ने देउवाको योजना छ। नौ महिनादेखि नेविसंघ विघटित अवस्थामा छ।

वरिष्ठ नेता पौडेल पक्ष भने विभागदेखि भ्रातृसंस्था गठनमा भागबण्डा नमिलेसम्म सहमति नजनाउने अडानमा छ। ‘महत्त्वपूर्ण विभाग आफैंसँग राखेर कसरी सहमति गर्न सकिन्छ, गुट नहेरी व्यक्तिको भूमिका र क्षमता हेरेर विभागको जिम्मा दिऔं भन्ने हाम्रो भनाइ हो,’ पौडेल निकट नेता नवीन्द्रराज जोशीले भने, ‘नेताहरूको सम्मान हुने र सबैलाई न्याय हुने गरी विभाग गठन गरिनुपर्छ।’ कार्यकालको अन्तिममा आएर विभाग गठन गर्ने कुरा उचित नहुने भन्दै पौडेल समूहले विभाग गठनभन्दा अधिवेशनमा जुट्नुपर्नेमा जोड दिइरहेको छ।

‘अब अधिवेशनलाई नै पार्टीले मूल विषय बनाउनुपर्छ’, नेता जोशीले भने, ‘विभाग गठन उहिल्यै गरिसक्नुपथ्र्यो। अब निकै ढिलाइ भइसकेको छ, विभाग गठनभन्दा पार्टीको अधिवेशन महत्त्वपूर्ण हो। यसतर्फ ध्यान दिऔं।’ कांग्रेसमा २८ विभाग छन्। सभापति देउवाले विभाग संख्या बढाएर ४५ पुर्‍याउने तयारी गरेका छन्। विगतमा ४२ विभाग रहेकोमा अहिले संख्या घटाएर २८ बनाइएको हो।

केन्द्रीय ससमितिको संख्या बढेकाले विभागको संख्या बढाउनुपर्ने प्रस्ताव सभापति देउवाको छ। ‘पार्टीमा पदाधिकारी संख्या बढेको छ, केन्द्रीय कार्यसमिति नै ठूलो छ, यस्तो अवस्थामा विगतको भन्दा झन् सानो संख्यामा विभाग बनाउने कुरा आफैंमा अनुपयुक्त थियो,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘विधानमा विभाग बढाउने सुविधा भएकाले सभापतिज्यूले यो प्रस्ताव ल्याउनुभएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .