उपप्रधानमन्त्री तथा कानुन तथा न्यायमन्त्री उपेन्द्र यादवले मन्त्रालय फेरिदिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संस्कार नदेखाएको बताएका छन्।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वार्तामा मन्त्री यादवले भनेका छन्, ‘भारतमा स्वास्थ्य सम्मेलनमा सहभागी हुँदै गर्दा म स्वास्थ्यमन्त्री थिएँ, कार्यक्रम समापनमा बोल्ने पालो आउँदा त कानुनमन्त्री भइसकेछु। त्यो थाहा पाएपछि कार्यक्रममा सहभागी नभई म त्यहाँबाट बाहिरिएँ। प्रधानमन्त्रीको त्यस्तो निर्णय राजनीतिक संस्कार र नैतिकताका हिसावले गलत थियो।’
नयाँ पत्रिकाका नरेश ज्ञवाली र वीरेन्द्र ओलीसँगको कुराकानीका क्रममा यादवले अगाडि भनेका छन्, ‘विश्वका एक सय ३७ देशका मन्त्रीहरु त्यस कार्यक्रममा सहभागी थिए। सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर नेपाली प्रतिनिधिको रुपमा मलाई त्यहाँ पठाएको थियो।’
यादवले राजपासँग एकताबारे धेरै कुरा मिलिसकेको बताएका छन्।
‘केही मिल्न बाँकी छ। राजपाका ६ जना अध्यक्ष छन्, केही अध्यक्षले एकताविरुद्ध वक्तव्य दिइरहेका छन्। केही एकताका पक्षमा छन्। ती सबै परिस्थिति ध्यानमा राखेर एकता हुन्छ।’

प्रतिक्रिया