प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन्।
उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए।
प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
पिसाब कम भएको सिकायत भएपछि १३ कात्तिकमा उनलाई अस्पताल लगिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो ।
मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे÷नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।
अस्पताल पुगेको वेला मिर्गौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकहरूले राखेका थिए । तर, प्रधानमन्त्रीले ‘म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नुपर्दैन’ भन्दै थप परीक्षणमा अनिच्छा देखाएका थिए । तर, चिकित्सकले उनलाई सम्झाए, ‘तपाईंको स्वास्थ्य प्रतिकूल छैन, अस्पताल आएको वेला रगत जाँची हेरौँ, हानि केही हुँदैन।’
रगतको रिपोर्ट भने प्रधानमन्त्रीले अपेक्षा गरेजस्तो आएन । क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम प्रतिशत पुगेको अस्पताल स्रोतले जनाएको छ । क्रियाटिनिनको मात्रा उच्च देखिएपछि उपचारमा संलग्न चिकित्सकले तत्कालै प्रधानमन्त्रीको हेमोडायलाइसिस सुरु गरेका थिए । तीन घन्टा हेमोडायलाइसिस गरेर प्रधानमन्त्री शनिबार नै बालुवाटार फर्किए।
प्रधानमन्त्रीको क्रियाटिनिन ६.३ पुगेको हो भने मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।
‘प्रधानमन्त्रीको उमेरअनुसार उहाँको मिर्गौलाले दश प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । ६.३ क्रियाटिनिन देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । बिरामीको भलाइका लागि नियमित डायलाइसिसमा बस्नुपर्छ अथवा प्रत्यारोपणमा गइहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा स्वास्थ्य राम्रो हुँदैन,’ डा. काफ्लेले भने ।
प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन्। प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ ।
शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन्।
चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । ‘हामी काठमाडौंमै प्रत्यारोपण गर्न सक्छौँ, अहिलेसम्म हामीले गरेका प्रत्यारोपण सफल छन्, प्रधानमन्त्रीले पनि यहीँ उपचार गर्दा कुनै जोखिम हुँदैन, सफल भइन्छ र त्यसपछि उहाँ काममा फर्कन सक्नुहुन्छ भनेर हामीले विश्वास दिलाइरहेका छौँ,’ उपचारमा संलग्न चिकित्सकले भने।
उनीहरूको भनाइमा प्रधानमन्त्री विश्वस्त छन्, तर सल्लाहकारहरूले भने सकेसम्म विदेशमै गएर प्रत्यारोपण गर्न सुझाब दिइरहेका छन्।

प्रतिक्रिया