सडक विस्तार अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्।
ठेक्का लिएर तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि उनीहरूले दबाब दिन शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँसेका हुन्।
नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । यो खबर आजको कान्तिपुर दैनिकमा विमल खतिवडा, लीला श्रेष्ठले लेखेका छन्।
स्थानीयले राजकुमार लामिछानेको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेरसमेत आन्दोलन गरिरहेका छन् । शैलुङका अध्यक्ष अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्।
आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए ।
तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए ।
पछिल्लो पटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेका छन् ।
प्रतिक्रिया